• Saturday 25th of July 2026

शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति


  • गोकर्णेश्वर अनलाइन

भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।

पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताउनुभयो । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उहाँले बताउनुभयो ।

“महँगो पर्ने बीउ आलुको सुरक्षित भण्डारणका लागि शीत भण्डारमा राख्यौँ” उहाँले भन्नुभयो, “शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बीउ लगाउन नहुने प्राविधिकले राय दिएपछि त्यहीँ छोडेका हौँ ।” बीउ आलु बिग्रिएको पनि करिब डेढवर्ष भइसक्दासमेत शीत भण्डारले उचित क्षतिपूर्ति नदिएकोमा आफूजस्तै यहाँका सबै किसान मर्कामा परेको उहाँले दुःखेसो गर्नुभयो ।
यहाँका किसालने उत्पादन गरेको बीउ आलुको भण्डारणका लागि भीरकोट नगरपालिका कार्यालय र शीत भण्डारबीच सम्झौता भई पेश्कीस्वरुप रु एक लाख ५८ हजार शीत भण्डारलाई दिइएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताउनुभयो । “भण्डारण गरिएको बीउ आलु प्राविधिकको राय बमोजिम लगाउन योग्य नभएपछि नगरपालिका कार्यालय, शीत भण्डार सञ्चालक र सम्बन्धित किसान बसेर क्षतिपूर्तिका विषयमा सहमति गरेका थियौँ” निवर्तमान प्रमुख खनालले भन्नुभयो, “प्रतिकेजी रु ४० का दरले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भयो तर अहिलेसम्म पनि शीत भण्डारले क्षतिपूर्ति उपलब्ध गराएको छैन ।”

सहमति अनुसार किसानले क्षतिपूर्ति नपाएको गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिका कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको नगरपालिका कार्यालयले जनाएको छ ।
शीत भण्डारको क्षमता १० टन रहेको र बढीमा १२ टनसम्म भण्डारण गर्न सकिने भनिएकोमा किसानको धेरै आलुको बीउ आएकाले समस्या भएको शीत भण्डार सञ्चालक श्यामप्रसाद ढुङ्गानाले बताउनुभयो ।

“शीत भण्डारको क्षमताभन्दा धेरै आलुको बीउ हुँदा पनि समस्या आयो” सञ्चालक ढुंगानाले भन्नुभयो, “तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनाँैं, दिन्छौँ ।”
शीत भण्डारमा आलुका लागि जुन तापक्रम आवश्यक पर्ने हो सोभन्दा बढी तापक्रम भएकाले आलु उम्रिएको उहाँले बताउनुभयो । नबिग्रिएको आलु लैजान र बिग्रिएको आलुको क्षतिपूर्ति दिन खोज्दा किसानले नमानेपछि ढिला भएको सञ्चालक ढुङ्गाना बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology