• Saturday 25th of July 2026

शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिनेः प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभएको छ ।
भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताउनुभएको हो ।

“त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।
दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताउनुभयोे । नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्नेे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगकोे प्रशंसा पनि गर्नुभयो ।

क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पु-याएका छन् भन्दै उहाँले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षामा यस क्याम्पसले इज्जत जोगाएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउन सबै क्याम्पस प्रमुख र विश्वविद्यालयका पदाधिकारीसँग हालै मन्त्रालयमा छलफल गरिएको र यस्ता प्रयासलाई जारी राख्ने उहाँले जानकारी गराउनुभयो ।“दश जोड दुई उत्तीर्ण गरेपछि विद्यार्थीमा विदेश जाने लहर बढेको छ, विश्वका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न जानेलाई रोक्नुहुन्न तर देशमै भएको विषय अध्ययनका लागि विदेश जाने वातावरण बन्नु भनेको हाम्रो गुणस्तरमा कतै समस्या छ भन्ने सन्देश हो, शङ्करदेवजस्ता उत्कृष्ट क्याम्पसमा भारत, बङ्गलादेश, चीनलगायत देशबाट विद्यार्थी आउने वातावरण बनाउनुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

पहिलेदेखि नै शङ्करदेव क्याम्पसको जग्गा थोरै रहेकाले भवनको पूर्वाधार बढाउन कठिन रहेको उल्लेख गर्दै उहाँले मन्त्रालयले समाजकल्याण परिषद्को जग्गा दिन प्रक्रिया अघि बढाउने बताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगार संविधानको मौलिक हकमा व्यवस्था गरिएकाले पूर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पौडेलले विश्वविद्यालयका समस्या वार्ताकै माध्यमबाट समाधान गर्न पनि जोड दिनुभयो ।

क्याम्पस प्रमुख प्रा डा केशवराज जोशीले तोकिएको कोटाभन्दा ३० गुणाबढी विद्यार्थी पढ्न आउने गरेकाले ठाउँको अभाव हुने गरेको बताउनुभयो । थप भवन बनाउने ठाउँ पाए पढ्न आउने सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने उहाँको भनाइ थियो । क्याम्पसलाई जमलस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा दिइएकामा अहिले त्यहाँबाट हटाइएकामा क्याम्पस प्रमुख जोशीले गुनासो गर्नुभयोे ।

क्याम्पसमा हाल १० हजार विद्यार्थी अध्ययन गरिरहेकामा खुला ठाउँ नभएकाले पनि समस्या हुने गरेको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवं क्याम्पसका पूर्वविद्यार्थी डोजाङ शेर्पाले क्याम्पसमा भौतिक पूर्वाधार विकासमा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो । क्याम्पसमा लामो समय काम गरेका प्राध्यापकको योगदानको कदर गरिनुपर्ने उहाँको भनाइ थियो ।

क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति शुभराम बस्नेतले यस क्याम्पसलाई विषयगत विश्वविद्यालयका रुपमा स्थापित गर्न माग गर्नुभयो । क्याम्पसअघि रहेको समाज कल्याण परिषद्को आठ रोपनी जग्गा थप भवन बनाउन क्याम्पसका नाममा ल्याउने प्रक्रिया सुरु गर्न पनि उहाँले माग गर्नुभएको थियो । क्याम्पस पूर्वविद्यार्थी समाजका अध्यक्ष राजीव थापाले क्याम्पसको भौतिक एवं शैक्षिक विकासका लागि निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology