• Saturday 25th of July 2026

बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ


  • गोकर्णेश्वर अनलाइन

भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ ।

चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैँका बेला गाउँ फर्किने किन नहुन् ! गाउँघरमा एउटै आशा हुन्छ, ‘कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।’

दसैँलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको हो । भदौको अन्तिम सातादेखि बिक्रीका लागि खुला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको बागलुङ बजारका फलफूल व्यवसायी बताउँछन् । रातो र सेतो दुवै रङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा आइपुगेको व्यसायीले बताएका छन् ।

धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पु¥याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पु¥याउने लामाले यस वर्ष पनि बगान ठेक्कामा लिनुभएको छ । रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष्य छ ।

मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उहाँले ठेक्कामा लिनुभएको हो । “दसैँपछि बजारमा माग घट्छ, कोशेली हुने भएकाले दसैँका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ”, लामाले भन्नुभयोे, “दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।” पहिलो पटक बजारमा आएको स्याउ खुद्रा व्यापारीले हानथाप गरेर खरिद गरेको लामाले बताउनुभयो ।

यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वका बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ । बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य रु ९० देखि र एक सय २५ सम्म पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

दसैँ तिहारका समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्ने गरेका छन् ।

“पहिलो पटक आएको स्याउ निकै उत्साहजनक हिसाबले बिक्री भइरहेको छ”, मिलन फलफूल पसलका सञ्चालक खगेन्द्र पौडेलले भन्नुभयो, “बागलुङका स्थानीय बजारमा पनि हामीले स्याउ पठाइसकेका छौँ ।”

विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले सुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडेको थियो ।

मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउन बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा भदौको अन्तिम साता मात्रै बगानमा प्रवेश दिइएको हो ।

गत वर्ष रु ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । मुस्ताङमा एक हजार चार सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने स्थानीय बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology