• Friday 24th of July 2026

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत


  • गोकर्णेश्वर अनलाइन

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ ।

करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जनाएको छ ।

सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ । महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ ।

सङ्ग्रहालय उद्घाटन गर्नुहुँदै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विसं २०१६ सालमा हराएका महाकवि देवकोटालाई आज उहाँकै कविकुञ्जमा फेला पारिएको बताउनुभयो । साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो सङ्ग्रहालय हो । विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा सङ्ग्रहालय बनाउने गरिएको छ ।

“विसं २०१६ देखि महाकविको निवासलाई सङ्ग्रहालय बनाउनुपर्ने आवाज आज सार्थक भएको छ, यो साहित्यिक क्षेत्रको पवित्र तीर्थस्थल बनेको छ, यसलाई राष्ट्रिय सम्पदाका रूपमा विकास गरिन्छ, यसका बारेमा नकारात्मक टिप्पणी गर्नेले पनि निर्माणमा महत्वपूर्ण योगदान दिएको रूपमा हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।

सङ्ग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि कार्यक्रममा कुलपति उप्रेतीले दिनुभयो । सङ्ग्रहालय दसैँ बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । एक वर्षसम्म सङ्ग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले चीनमा साहित्यकार लुसुनको सङ्ग्रहालय देखेर आफूले पनि साहित्यिक व्यक्तित्वका नाममा यस्ता स्थल निर्माण हुनुपर्ने भनी राखेको सोच आज पूरा भएको बताउनुभयो । सरकारले महाकविको घर प्रतिष्ठानलाई जिम्मा दिएकामा अब त्यसको संरक्षण हुनुपर्ने उहाँले बताउनुभयो । महाकविको घर समग्र नेपालीका लागि समर्पण भएको पूर्वकुलपति काइँलाको भनाइ थियो ।

महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले अस्तव्यस्त रहेको महाकविको कविकुञ्ज सङ्ग्रहालयमा परिणत हुँदा खुसी लागेको बताउनुभयो । अमूल्य काम भएकामा अब यसको संरक्षणमा पनि सबैको सहयोग रहनुपर्ने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्रा डा पार्थिवेश्वर तिमल्सिना, महाकवि मार्ग टोल सुधार समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, महाकवि देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमाल, महाकविकी पनातिनी मञ्जिला अनिल, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा देवी नेपाललगायतले महाकवि देवकोटाले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

सङ्ग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ । सङ्ग्रहालयभित्र महाकवि देवकोटा श्रव्यदृश्य कक्ष पनि स्थापना गरिएको छ । माथिल्लो तलामा सभाकक्ष राखिएको जानकारी पनि सो अवसरमा गराइयो । सङ्ग्रहालय निर्माणका लागि महत्वपूर्ण योगदान गर्नेलाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology