• Friday 24th of July 2026

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशिल र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताउनुभयो ।

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो”, उहाँले भन्नुभयो, “विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौंँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउनुहुँदै उहाँले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उहाँले बताउनुभयो ।

उहाँले काठमाडौँ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गर्नुभएको छ । भविष्वयमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उहाँले अपेक्षा व्यक्त गर्नुभएको छ ।

सो क्रममा उहाँले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गर्नुभएको छ ।

एक हजार ६९९ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार छ सय ६ जनासहित एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौंँ विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार मानविकीका दुई सय २०, शिक्षाका दुई सय दुई, इञ्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका चार सय ५२, स्वास्थ्य विज्ञानका सात सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये सात सय ३४ जना पुरुष र नौ सय ६५ जना महिला छन् । दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले जनाएको छ । यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology