• Friday 24th of July 2026

चुरोटको खोलमा कविता लेख्थेँ– केपी ओली


  • गोकर्णेश्वर अनलाइन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ ।

पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उहाँले भन्नुभयो, “गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।”

अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गर्नुभयो । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उहाँले सुनाउनुभयो ।

विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो । “जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ”, ओलीले भन्नुभयो, “जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।”

भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उहाँको भनाइ छ । ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै गुमनाम पारिएको बताउनुभयो ।

“सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो”, उहाँले भन्नुभयो, “जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।”

उहाँले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको उल्लेख गर्नुभयो । बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताउनुभयो । उहाँले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताउनुभयो ।

पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताउनुभयो । उमेरमा जो कोही कम्युनिष्ट र कवि बन्छन् भन्ने गरिन्छ नि ? भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राख्नुभयो ।

“काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको बताउनुभयो । “निकम्मा भाग्यवादमा म विश्वास राख्दिन, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो”, उहाँले भन्नुभयो ।

ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको बताउनुभयो । उहाँले राजनीतिबाहेक जीवनका अनेक पक्षबारे आफ्ना अनुभव र भोगाइ सुनाउनुभयो । राजनीतिज्ञ मात्रै नभएर एउटा आम मानिसका रूपमा बाँचेको जीवनका अन्तरकुन्तर विषयलाई उहाँले रमाइलो शैलीमा अभिव्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology