• Saturday 25th of July 2026

प्रधानमन्त्रीलाई विश्वासको मत दिने अध्यक्ष ओलीको प्रतिबद्धता


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै अन्य दलहरुलाई समेत त्यसको पक्षमा उभिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा उहाँले प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावलाई समर्थन गर्दै अरू दललाई पनि पक्षमा मतदान गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “म प्रस्तावको स्वागत र समर्थन गर्छु, राजनीतिमा मौका अनुसारको व्याख्या गरिनु हँुदैन, प्रधानमन्त्री दाहाललाई अहिले विरोध गर्नुपर्ने ठाउँ नै छैन ।” प्रतिपक्षमा रहेर पनि सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले विश्वकै लोकतान्त्रिक अभ्यासमा नयाँ भाष्य स्थापित गरेको उल्लेख गर्दैै उहाँले यदि समर्थनमा कुनै स्वार्थ रहेको खण्डमा त्यो निरर्थक साबित हुने बताउनुभयो ।

सरकारद्वारा जारी गरिएको साझा न्यूनतम कार्यक्रम स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । “त्यो स्पष्ट प्रतिबद्धता छ, रुग्ण उद्योगलाई ब्युताउनेसहित देशलाई औद्यौगिकीकरण र आधुनिकीकरणमा लैजानुपर्छ यो कार्यान्वयन गर्ने विषय पनि उत्तिकै चुनौती छ”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “इतिहास दोहो-याउने नभई नयाँ रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशलाग्दो छ, असहमति जनाइरहनुपर्ने आवश्यकता छैन ।”

अध्यक्ष ओलीले कुनै कालखण्डमा संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उहाँले विश्वका लोकतन्त्रातिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुदै आएको स्पष्ट गर्नुुभयो ।

अध्यक्ष ओलीले सरकारले अघि सारेका नीति तथा कार्यक्रममा झन्डै ५० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका र लाखौँको सङ्ख्यामा विदेशमा रहेका युवा लक्षित रहेको बताउँदै उहाँले भन्नुभयो, “युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैन, रोजगारीका आकर्षक अवसरहरु सिर्जना गर्नुपर्छ ।” उहाँले देशको विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology