• Saturday 25th of July 2026

कामपा प्रमुख बालेन्द्र साहको कार्यशैलीप्रति आपत्ति


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले गैरकानुनीरूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् ।

आज माइतीघर मण्डलामा कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययनबिनाको कामपाको योजना र विकल्पबिनाको योजनाका कारण जनताले पीडा भोग्नुपरेको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न शान्तिपूर्ण खबरदारीसभा गरिएको हो ।

त्यसैगरी साहले नागरिकको निजी सम्पत्तिमा आफूखुसी डोजर लगाएको आरोप पनि धर्नामा सहभागीले लगाएका छन् । प्रदर्शनमा सहभागीहरूले ‘पछिल्लो समय कामपाले गरेको ज्यादति बन्द गर, डोजर आतङ्क बन्द गर, सडक विस्तारको क्रममा उठिबास लगाउन पाइँदैन, आदिवासीको भूमिको अधिकार सुनिश्चत गर, उठिबास गर्ने विकास चाहिँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएको प्लेकार्डसहित विरोध गरेका हुन् ।

उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष सुमन सायमीका अनुसार कामपाका प्रमुख बालेन्द्र शाह राम्रो काम गर्ने उद्देश्यका साथ निर्वाचित हुनुभएको भए पनि अहिले उहाँको कार्यशैली नागरिकको पक्षमा नरहेकाले धर्नाको कार्यक्रम गरिएको बताउनुभयो । कामपा प्रमुख साहको प्रतिस्पर्धीसमेत रहनुभएका सायमिले गैरकानुनीरूपमा गरेको ज्यादति बन्द गर्नका लागि आज शान्तिपूर्ण खबरदारीसभा गरेको बताउनुभयो ।

आगामी दिनमा कामपाबाट यस्ता कामले निरन्तरता पाए आन्दोलनका कार्यक्रम थप चर्काउने पनि उहाँले स्पष्ट पार्नुभयो । कामपाले पूर्व सूचनाबिना निजी घरमा डोजर चलाएको भन्दै यसअघि पनि प्रमुख साहविरुद्ध आन्दोलन भएको थियो । धर्ना कार्यक्रममा उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति, ज्यापु महागुथि नेपासहित विभिन्न सङ्घसंस्थाको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology