• Friday 24th of July 2026

गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।

ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो । यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology