• Wednesday 29th of July 2026

सुदूरपहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएनन्


  • गोकर्णेश्वर अनलाइन

चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जनाएको छ । ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायब कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

विगतका वर्षमादसैंतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दसैंतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।

पहाडी जिल्लामा तत्काल सुपथ मूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री बिक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ ।

उहाँले भन्नुभयो, “अनलाइन बिलिङ काट्नुपर्ने अवस्था छ, हामीसँग जनशक्ति नहुँदा पहाडी जिल्लामा त्यो सम्भव छैन ।” पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि सम्बन्धित पालिकाले चाँसो देखाउनुपर्ने उहाँले बताउनुभयो । “कुनै स्थानीय तहले सुपथ मूल्य पसल सञ्चालन गर्छु भनेर आउँछ भने हामीले खाद्यान्न सामग्री उपलब्ध गराउँछौ, हामी आफैंले सञ्चानल गर्न सम्भव छैन ।”

पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् ।

सुपथ मूल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून, चामल, दाल, साबुन, तेल, चिउरालगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाइको छ ।

यसैबीच कैलालीको अत्तरिया र धनगढीमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा पनि चिनीको अभाव रहेको प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “माथिबाटै चिनी आएको छैन, हाम्रो केन्द्रीय कार्यालयमै चिनीको अभाव छ, त्यसैले चिनीबाहेकका अन्य खाद्य सामग्री बिक्री गरिरहेका छौं ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology