• Monday 27th of July 2026

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम भने बढेन


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८७.६३ अङ्कले उकालो लागेर दुई हजार ६७२.२५ मा पुगेको छ । लामो समयपछि नेप्सेमा उच्च अङ्कको सुधार देखिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.६१ अङ्कले बढेर ५०४.५७ मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने खासै उकालो लागेको छैन । कूल २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर रु चार अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ४१ अर्ब ११ करोड ७८ लाख ५० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३७.४, व्यापार १५.८८, होेटल तथा पर्यटन ८१.८८, विकास बैंक ३०१.५, जलविद्युत् २००.८२, वित्त १७६.४९, निर्जीवन बीमा ४६७.६, उत्पादन १४३.३७, अन्य ४९.२९, लघुवित्त १२१.१३, जीवन बीमा ५३७.०१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.६७ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १६ करोड २५ लाख २३ हजार ८५९ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु १३ करोड ४५ लाख ५५ हजार १४५, सिद्धार्थ बैंक रु १३ करोड १३ लाख ४३ हजार ३७४, नेशनल हाइड्रोपावर रु १२ करोड २६ लाख आठ हजार ८०९, नबिल बैंक रु ११ करोड ६५ लाख २५ हजार ८२० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

२० कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार सोमबारको कारोबारमा विभिन्न २० कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । त्यसमा गुर्खाज फाइनान्स, वेष्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहश्वरी मर्चेन्ट बैंक, मल्टीप्रर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, अरुण काबेली पावरलगायत कम्पनी रहेका छन् । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ४, मेरो माइक्रोफाइनान्स ३.९७, युनिलिभर नेपाल २, लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology