• Saturday 25th of July 2026

लयमा फर्कंदै भेडेटारको पर्यटन व्यवसाय


  • गोकर्णेश्वर अनलाइन

धरान, १६ कात्तिक (रासस): कोरोना महामारीले गर्दा ठप्प भएको भेडेटारको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन थालेका छन् । अहिले भेडेटारमा आन्तरिक पर्यटकहरुको आगमन बढेको व्यवसायीले बताएका छन् ।

कोरोना सङ्क्रमण कम हुँदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि बिस्तारै आन्तरिक पर्यटक साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, ध्वजे डाँडा, नमस्ते झर्ना घुम्न आउने पर्यटक बढेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

पर्यटक घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको व्यवसायीको भनाइ छ । भेडेटारमा दुईवटा स्टार होटेल खुल्ने चरणमा छन् । पर्यटक आसपासका क्षेत्र घुमाएर सुविधासम्पन्न होटेलमा राख्न यी होटेल सुरु भएपछि सहज हुने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारीदिनुभयो । गाउँपालिकाले पर्यटनलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनु भयो । पर्यटकका लागि बुटिक जोन, वाइफाई जोन बनाइएको छ । फूलबारी जोन बनाउने तयारी भइरहेको छ । गाउँपालिकाले साँगुरीगढी क्षेत्रका १६ महत्वपूर्ण स्थानको पहिचान गरी पोइन्ट बनाएको छ । भेडेटार आसपासका क्षेत्र घुम्नका लागि गाउँपालिकाले निकट भविष्यमा यातायातको व्यवस्था गर्ने वडा नं ६ का वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिनुभयो ।

होटेल व्यवसायी रुदालीका अनुसार कोरोना कहर अगाडि दैनिक एक हजार पर्यटक पहाडतर्फ उक्लने गर्दथे तर लकडाउन भएपछि भने २०७६ चैतदेखि डेढ वर्षसम्म होटेल व्यवसाय ठप्प भएको थियो । दसँैअगाडि देखि भने चहलपहल बढेको छ । कोराना सङ्क्रमण कम भएपछि सुरक्षा सतर्कता अपनाउँदै पर्यटकहरु पनि घुमफिर गर्न थालेपछि होटेलहरु पनि सञ्चालन हुन थालेका छन् । व्यवसायीहरुले पनि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको व्यवसायी रुम्दालीले बताउनुभयो ।

जोमनी नाका खुल्ला भएपछि भेडेटारमा भारतीय पर्यटकहरु पनि आउन थालेका छन् । प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

भेडेटारको पर्यटनबारे छलफल

झण्डै दुई वर्षदेखि पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम नभएको भेडेटारमा शनिबार र आइतबार पर्यटनबारे छलफल भएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश १ समिति र साँगुरीगढीका सहकार्यमा साँगुरीगढी गाउँपालिकाको पर्यटकी सम्भावना र अवसरबारे छलफल गरिएको हो । महासङ्घ प्रदेश नं १ अध्यक्ष लीलाबल्लभ घिमिरेका अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाले हालसम्म पर्यटन प्रवद्र्धनका लागि गरेको कार्य विवरण प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रस्तुत गर्नुभयो । उहाँले भेडेटारमा निकट भविष्यमा स्काई वाल्क बनाउन लागिएको जानकारीदिनुभयो प्रदेश सरकारसँगको सहकार्यमा हाल भएको चाल्स भ्यू टावर भएको स्थानमा स्काई वाल्क बन्न लागेको हो । साँगुरीगढी गाउँपालिकामा अकवरे खोर्सानी उत्पादन हँुदै आएको छ । उक्त खोर्सानी ब्रान्डिङ गरी झोला बनाएर बिक्री वितरणका तयारी थालिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नाम्जेको घरबास ‘होम स्टे’बारे नाम्जे थुम्की सामुदायिक होम स्टेका अध्यक्ष अनिल रानाले जानकारी गराउनुभयो । स्वास्थ्य मापदण्ड अपनाएर होम स्टेहरुले सुविधा दिइरहेकाले नाम्जे बास बस्दै आउन उहाँले आग्रहसमेत गर्नुभयो । ९७ प्रतिशत मगर जातिको बसोबास रहेको नाम्जेमा मगर जातिको मौलिक संस्कृति भाषा परम्परा बुझ्न पनि सकिने रानाले बताउनुभयो । यहाँ करिब ४० जनासम्मको क्षमताको होम स्टे सञ्चालनमा छ ।

होटेल एसोसिएसनका अध्यक्ष रुम्दालीले भेडेटारको होटेल व्यवसाय र पर्यटकहरुको चहलपहलबारे जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इक्वाल अहमद, प्रदेश सल्लाहकार विक्रम लुइँटेल, महासङ्घ धनकुटा अध्यक्ष नगेन्द्र राईलगायतले भेडेटारको पर्यटनबारे बोल्नुभएको थियो । पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङको संयोजनमा भएका कार्यक्रममा १४ जिल्लाका विभिन्न सञ्चार संस्थामा काम गर्ने सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology