• Saturday 25th of July 2026

महिलाहिंसा : भ्रुणदेखि घाटसम्म


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, १६ मङ्सिर (रासस) : काठमाडौँको बबरमहलस्थित नेपालकला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ ।

चित्रको मुनी लेखिएको छ, “अनुचित भ्रूण परीक्षण पश्चात अनावश्यक चीज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।” क्यान्भासमा गर्भभित्रै कैँचि चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ ।

कानुनमा जतिसुकै समानताको कुरा लेखिए पनि र राज्यका निकायले बोलिरहे पनि व्यवहारतः छोरी भएकै कारण भु्रणबाटै महिलाको अस्तित्व समाप्त पार्ने अपराधका बग्रेल्ती उदाहरण समाजमा छन् । त्यो भूणदेखि सुुरु भएको हिंसाको शृङ्खला मृत्यु घाटसम्म कायम रहन्छ । यही नै उनको चित्रकलाको मार्मिक पक्ष हो र ती चित्रमार्फत मानिसमा चेत भर्ने प्रयास गरिएको छ ।

महिलाहिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला चित्रकार पाण्डेले एक पटक समाजलाई बिउँझाउने खालको सिर्जना क्यान्भासमा उनेर त्यही समाजलाई देखाउनुभएको हो । सोह्र वर्षीया पाण्डेले ३० चित्रमा भु्रणदेखि घाटसम्म हुने अनेकनहिंसालाई चित्रात्मक रुपमा देखाउँदै हुनुहुन्छ । पुख्र्यौँली घर गुल्मी भई हाल काठमाडौँ महानगरपालिका– १५ छाउनी बस्ने उहाँ हाल विज्ञान विषय लिएर कक्षा ११ मा पढ्दै हुनुहुन्छ । कथा, कवितामा समेत उहाँको रुचि छ ।

आजदेखि सुरु भई तीन दिनसम्म चल्ने प्रदर्शनीमा पाण्डेले भन्नुभयो, “पेटदेखि मृत्युघाटसम्म कुनकुन अवस्थामा महिलामाथि हिंसा हुन्छन् भन्ने कुरा देखाएकी छु, समाजमा समानताका कुरा उठ्न थाले पनि महिला एक तह पछाडी नै छन्, भन्ने गलत सोच अझै जरामा छ, कलामार्फत सोचमा परिवर्तन गराउने मेरो सानो प्रयास हो ।”

महिलालाई घरको चार भित्तामै सीमित राख्ने अवस्थालाई सिर्जनामार्फत मानिसलाई महसुस गराई सोचमा परिवर्तन होस् भन्ने चाहनाका साथ प्रदर्शन गरिएको हो । यति सिर्जनामा उहाँको दुई वर्षको मेहनत छ । यद्यपि कोभिडका कारण केही ढिला गरी प्रदर्शन गरिएको हो ।

हजारौँ बेदना र आक्रोश मिश्रित आँसुले चित्र सिर्जनाको औचित्य पुष्टि गरिरहेको छ । मुहारमा मात्रै होइन शब्द, स्पर्श, रस, गन्ध, वुद्धि, मन र वृत्तिमा नै घुम्टो ओढ्न विवस ति महिलाका कथा र बेथा क्यान्भासमा रङले दुरुस्त भरिएको छ । विवाह गरेपछि महिलाका रहर, इच्छा, स्वतन्त्रता, निर्णय र अधिकारमाथिको नियन्त्रण समाजमा यत्रतत्र देखिइँदै आएकामा उहाँले कलामार्फत चिरफार गर्नुभएको छ । दिमागमा छोरा र पेटमा छोरी हुँदाको भयानक परिणामलाई सहज संयोजनकासाथ क्यान्भास भर्नुभएको छ । उहाँले लिङ्गपिच्छेको फरक मृत्युलाई अमूर्तकलामार्फत देखाउँदै समाजलाई सचेत बनाउन खोज्नुभएको छ ।

आफ्नो अँश्रुधारा थापेर जीवनको तीर्खा मेट्न विवस महिलाका वेदना पनि चित्रमार्फत सुन्दर रुपमा प्रस्तुत गरिएको छ । कलाकार रसना बज्राचार्य उहाँका चित्र आफैँ बोलिरहेको बताउनुहुन्छ । “दर्शनशास्त्रमा महिलालाई देवीका रुपमा हेरिने गरिन्छ, तर समाजले कसरी हेरिरहेको छ, सुप्रियाको सिर्जनामा स्पष्ट छ”, बज्राचार्यले थप्नुभयो । सुन्दर संयोजनले उहाँको कलामा निखारपन छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य समसामयिक र जल्दोबल्दो विषय रहेकाले उहाँको एकल चित्रकला प्रदर्शनीको उच्च महत्व रहेको स्मरण गर्नुहुन्छ । उहाँले कलिलै उमेरमा सुप्रियाले भाव, विषय र कलायुक्त कृति समेटेको बताउनुभयो ।

कोरोनाका कारण हजारौंले ज्यान गुमाए तर त्यसले सुप्रिया जस्ता कलाकारका सिर्जना फुलाउने कामसमेत गरेको उहाँले उल्लेख गर्नुभयो । “देवीका रुपमा नारीलाई सम्झने गरिए पनि व्यवहारमा फरक रहेको र त्यही पीडा उहाँका ३० सिर्जनामा स्पष्ट छ”, उहाँले भन्नुभयो ।

आर्टलाई घण्टौं लगाएर साधान गर्न सक्ने क्षमता सुप्रियामा रहेको उल्लेख गर्दै बुबा डा रविन्द्र समिर सुझावात्मक भनाइका साथ भन्नुहुन्छ, “अभिभावकले बालबालिकासँग दिनको आधा घण्टा समय दिनसक्यो भने पनि उनीहरुलाई समाज बुझ्न र सिर्जना तिखारिन सहयोग गर्छ, हामीले त्यो वातावरण दिने प्रयास गरिएको मात्रै हो ।” प्रदर्शनीका आयोजक टिम निपोका अध्यक्ष डा निगम पौडेल यस क्षेत्रकै सम्भावना बोकेकी कलाकारका रुपमा आफुले पाण्डेलाई बुझेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology