• Saturday 25th of July 2026

लोप हुँदै मल्लकालीन योमरी मान्ने परम्परा


  • गोकर्णेश्वर अनलाइन

भक्तपुर, ४ पुस (रासस) : योमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाँड एवं दान पर्वका रुपमा योमरी पून्हिमा मनाएका छन् । धार्मिक विश्वासअनुसार आजका दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रुपमा लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात् योमरी पून्हिको अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।

मल्लकालदेखि यो पर्वमा आजका दिन कुनै पनि चीज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले योमरी लिने र दिने गरिएको संस्कृतिविद् श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । आज बिहानैदेखि विभिन्न शिवालयमा दर्शन गर्ने परम्परा रहेको छ । शिवालयमा योमरी चढाएर पुजा गर्नेको भीड लागेको हो ।

योमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । परम्पराअनुसार योमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा योमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । योमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइन्छ ।

लोप हुँदै मल्लकालिन टोलटोलमा योमरी माग्ने प्रचलन

तिहारमा द्यौसी÷भैलो खेलेझै धान्य पूर्णिमाका दिन साँझ टोलटोलका घरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालिन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ ।

“त्यःछिं त्यः, बकछिं त्यः
लातापाता कुलिचां जुसें त्यः
योमरी च्वामु, उकिइ दुने हामु
बिउम्हः ल्यासे, मबिउम्ह बुरिकुति”

अर्थात् पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिनु, चामल हुनेले चामल दिनु, योमरी हुनेले योमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भावनाका साथ लोकलयमा खेल्ने परम्परागत योमरी माग्ने प्रचालन पछिल्ला पुस्ताले अनुशरण नगर्दा लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मी श्रेष्ठले बताउनुभयो ।

“त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ती यः
ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु उकी दुने चाकु
व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”

संस्कृतिकर्मी श्रेष्ठले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने बताउनुभयो । यो प्रचालनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उहाँको भनाइ थियो ।

किम्वदन्तीअनुसार पांचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । ति दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुबेर गरीब ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुबेरलाई श्रद्धापूर्वक आफुले तयार पारी राखेको यःमरी खुवाए ।

उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाइ यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती वृद्धि भयो र यःमरी खाएका कारण शरिर समेत हिष्टपुस्ट हुन थाल्यो ।

त्यही बेलादेखि नेवार समुदायमा यमरी पूर्णिमाको संस्कृति विकास भएको भनाइ छ । धनसम्पति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा यःमरी पूर्णिमाका दिन सबैले यमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ । नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र योमरी दान गर्ने प्रचलन छ । यसैगरी आजै पौष शुक्ल पूर्णिमाका दिनमा क्षत्री समुदायका विभिन्न जातजातिले भने कूल पूजा अर्थात् दिवाली पूजा गरेर यो चाँड मनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology