• Saturday 25th of July 2026

फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध : गृृहमन्त्री खाँण


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा आजदेखि पर्यटकीय सहर लेकसाइडमा सुरु भएको २३औँ संस्करणको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले पोखरालाई सुन्दर रूपमा रहन दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्दछ । प्रदेश सरकारले समन्वय गर्ने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु । सङ्घीय सरकार पोखरालाई सदैव शान्त, सुन्दर राखिरहन प्रतिबद्ध छ ।” फेवातालको संरक्षणका लागि आएका प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिवेदन कार्यान्वयनको क्रममा पोखरावासी दाजुभाइ दिदीबहिनीले साथ दिनुहोला । कार्यान्वयन गर भन्ने तर कार्यान्वयन गर्ने बेलामा भने यस्तो रिपोर्ट आएछ, थाहा भएन भन्ने नहोस् ।” देशका विभिन्न भू–भागमा रहेका पर्यटकीय क्षेत्र २४सै घण्टा रेष्टुरेण्ट खुलोस् भन्ने चाहना सरकारको रहेको बताउँदै उहाँले त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले निरन्तर सेवा दिन सकिने ठाउँहरु तय भएको खण्डमा परीक्षणका रूपमा सुरु गर्न सकिने उल्लेख गर्नुभयो । होटल रेष्टुरेण्टमा गएर प्रहरी प्रशासनले सहयोगी भूमिका निर्वाह गर्न गृहमन्त्री खाँणले निर्देशन दिनुभयो । “२४सै घण्टा होटल रेष्टुरेण्ट खुला राख्न स्थानीय जनप्रतिनिधि र स्थानीय दाजुभाइ दिदीबहिनीलाई तपाईँले मनाउनुहोस्, खोल्न हामी तयार छौँ”, मन्त्री खाँणले भन्नुभयो, “होटल रेष्टुरेण्टमा गएर पुलिस प्रशासनले सहयोगी भूमिका निर्वाह गर्नुहोला, होटल रेष्टुरेष्ट बन्द गर्न तपाईँहरु जाने होइन, सुरक्षा आवश्यक परेमा मात्र जाने हो ।”

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशङ्का रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ बचाउनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले नेपालको पर्यटनको राजधानी पोखरा हो भनेर घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो । उद्घाटन समारोहमा रेवानका केन्द्रीय प्रथम उपाध्यक्ष सङ्घर्ष विष्ट, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, रेवानका अध्यक्ष लक्ष्मण बराललगायतले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवको उद्घाटनअघि विभिन्न २५ वटा सांस्कृतिक समूहको झाँकी ¥याली तीन किमी पैदल महोत्सवस्थल कोमागाने पार्कसम्म निकालिएको थियो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ‘सडकमै खाऔँ, सडकमै नाचौ र सडकमै रमाऔँ’को नारासहित रेवानले सडक महोत्सव आयोजना गरेको हो । फेवाताल किनार लेकसाइडको तीन किमी क्षेत्रको सडकमा महोत्सव गरिने संयोजक नरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology