• Saturday 25th of July 2026

दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ


  • गोकर्णेश्वर अनलाइन

विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडौँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्यूठानको झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने विभिन्न व्यावसायिक प्रतिष्ठानको सञ्चालक भन्दै विभिन्न व्यावसायिक प्रतिष्ठानबाट नगद तथा निर्माण सामग्रीलगायत खरिद गर्ने बहानामा करोडौँ ठगी गरेर फरार रहँदै आएका ५० वर्षीय पोखरेललाई सोमबार राति पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेका पोखरेलले दर्ता नै नरहेका भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ, मकवानपुर, कामधेनु गाई फार्म प्रालि खैरेनीपुर चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्रालि झिमरुक प्यूठान, प्रिंस कन्स्ट्रक्सन प्रालि कामपा–३२ काठमाडौँ, गौमुखी फिड इन्डष्ट्रिज कपिलवस्तुको प्रोपाइटर बताउँदै ठगी गर्दै आएको प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका पोखरेललाई सोमबार राति करिब १० बजेको समयमा पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा बागमती प्रदेश ०१–०२६ च ४००१ नं को कार चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका पोखरेलले गत असार १८ गते विजयनगर गाउँपालिका–४ अन्तर्गत रहेको गौमुखी फिड इन्डष्ट्रिज एन्ड ट्रेडलिङ्कको प्रोपराइटर भनी कपिलवस्तु नगरपालिका–१ मालटोलस्थित केजिएन मार्ट पसलबाट रु ५० हजार बराबरको किराना र कस्मेटिक लगायतका सामान खरिद गरेर माछापुच्छ्रे बैंकको चेक दिएको र उक्त चेक साट्न जाँदा रकम नभएको थाहा पाएपछि ठगी मुद्दा परेपछि प्रहरीले खोजी गर्ने क्रममा पक्राउ परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनले २०६४÷६५मा दाङको लालमटियामा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनी विभिन्न व्यक्तिबाट करिब रु एक करोडभन्दा बढी रकम ठगी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

यस्तै २०६५ मा कैलालीको धनगढीमा मेडिकल कलेज खोल्ने भनेर विभिन्न व्यवसायी तथा सर्वसाधारणबाट लाखौँ रकम ठगी गरी फरार भएका पर्साको वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङ उद्योगबाट आफू गौमुखी फिड इन्डष्ट्रिजको सञ्चालक रहेको परिचय दिएर च्यानल गेट, एङ्गल तथा रड लगायतका निर्माण सामग्रीसहित रु ४७ लाखको सामान खरिद गरी माछापुच्छ्रे बैङ्कमा रहेको १००१५२४१०४८७८११२ खाता नं को रकम नभएको चेक दिई फरार भएको, गोयल कम्पनीको बिक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट यही माघ ५ गते रु २३ लाख बराबरको हार्डवेयर सामग्री खरिद गरेर कृषि विकास बैङ्क लिमिटेड प्यूठानको खाता नं ०९१९६०१९९५३१७०११ को रकम नभएको चेक दिई फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

यस्तै प्रहरीका अनुसार नेपाली सेनाको ठेकेदार हुँ भनी चितवनको टाडीमा सञ्चालित रिजाल फुड तथा वेभरेज प्रालिबाट माछापुच्छ्रे बैङ्कको रकम नभएको चेक दिई रु २८ लाख बराबरको रकम ठगी गरेर फरार भएको, नवलपरासीको समृद्धि स्टिल कम्पनीमा रु २५ लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको, प्यूठान सिमेन्ट कारखानाबाट रु २० लाख, गोल्छा अर्गनाइजेसनबाट रु ३० लाख बराबरको चामल चिउरा तथा फलामका सामग्री लिई रकम नभएको चेक दिई फरार भएको अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology