सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी ताल संरक्षणको दायित्व सबैको भएको बताउनुभएको छ । कैलालीको घोडाघोडीमा आज आयोजित घोडाघोडी बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा कार्यक्रममा उहाँले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले घोषणा गरेरमात्रै नहुने भन्दै विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई संरक्षण गर्न सबैको दायित्व रहेको बताउनुभयो । घोडाघोडी धार्मिक र प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यसको ऐतिहासिकता बचाउने गरी संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणाले चराको संरक्षण र पर्यटन विकासमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
घोडाघोडी नगरपालिका मातहतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी तालसहितको घोडाघोडी सिमसार क्षेत्रलाई बर्ड सेन्चुरी घोषणा गरेको हो ।
प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गरिएको जनाइएको छ । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन् ।
