• Saturday 25th of July 2026

संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति


  • गोकर्णेश्वर अनलाइन

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताउनुभएको छ ।

यहाँस्थित ५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पार्नुभयो । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो ।

प्रधान सेनापति शर्माले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईंहरुले ज्ञान र सीप स्वदेशमा नै उपयोग गर्नूस् ।”

प्रत्येक सेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा भूपू सम्मेलन र स्वास्थ्य शिविर एकैसाथ गर्ने अभ्यास रहिआएको छ । नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वयमा भएको सम्मेलनमा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य सेवा एवम् लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत ब्याजदरमा उपलब्ध गराइने रकमको चेक तथा उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार प्रदान गरियो ।

सम्मेलनमा ज्येष्ठ भूपूसैनिक तथा एकल महिलाको सम्मान तथा अशक्तलाई ह्विलचियर उपलब्ध गराइयो । चारजना वा सोभन्दा माथि सन्ततिलाई सेनामा सेवा गर्न प्रेरित गर्ने बाबुआमालाई पनि सम्मेलनमा सम्मान गरियो ।

सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट, औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रुपमा लिने गरेका छन् । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूसैनिक र निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । सम्मेलनका क्रममा प्रस्तुत भएको यस क्षेत्रका संस्कृति झल्कने नाचगानसहितको झाँकी हेरेर भूपूसैनिक र उनका परिवार फुरुङ्ग देखिन्थे । भूपूसैनिकको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई व्यवसाय सञ्चालन प्रवद्र्धनमा सहयोग पु-याउँदै आएको छ ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले भूपूसैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाट नै दिने उद्देश्यले हिताधिकारीलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो । ‘बहुजन हिताय, बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका आफ्ना सदस्यलाई स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । सम्मेलनमा दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा, अछाम र वैतडीमा स्थायी वसोवास भएका करिब ५५० भूपूसैनिकको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology