• Saturday 25th of July 2026

‘टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ : पर्यटनमन्त्री श्रेष्ठ


  • गोकर्णेश्वर अनलाइन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताउनुभएको हो । “टानले उठाएको टिम्सको समस्यासम्बन्धी विषयलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे तत्काल व्यवसायीसँग छलफल र परामर्श गरेर अगाडि बढ्छौँ, अन्य विषयमा पनि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुली खुला गर्दै जाने सरकारको नीति रहेको बताउनुभएको हो । “अहिले आरोहणमा नरहेका पाँच हजार ८०० मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तीनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

उहाँले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढेको जानकारी दिनुभयो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना महामारीबाट थलिएको पर्यटन पुनःउत्थानका लागि नीतिगत सुधार एवं योजनावद्ध कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय टिम्स व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै यसलाई समाधान गर्न सरकारले पहल लिन आग्रह गर्नुभयो ।

राससकर्मी रेग्मीसहित पत्रकार पुरस्कृत

कार्यक्रममा पर्यटन पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, नेपाल टेलिभिजनका आर्थिक समाचार प्रमुख प्रदीपकुमार चापागाइँ, न्यूज एजेन्सी नेपालका प्रबन्ध निर्देशक सविन धमला, न्यूज लाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, पत्रकार सुवास योञ्जन, टिपी भुसाल, शङ्कर पण्डित, सरोज ओझालगायतलाई टान जर्नालिज्म अवार्डद्वारा पुरस्कृत गरिएको थियो । उहाँहरुलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा टिम्स बिक्री गर्ने उत्कृष्ट १० कम्पनीलाई सम्मान गरिएको थियो । यस्तै, १७ वर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने स्वर्गीय शम्भु तामाङलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।

टानको आज हुने निर्वाचनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । टानको नेतृत्वका लागि निलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । टानको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

टान निर्वाचनमा एक हजार दुई सय ५० मतदाता रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology