• Saturday 25th of July 2026

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामना


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा जनाइएको छ ।

उहाँले भन्नुभएको छ, “एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषी विभेदजन्य अभ्यासहरूलाई भने समयसापेक्ष सुधार गर्दै जानु पनि जरूरी छ ।”

उहाँले विधि र प्रक्रियापूर्वक इमान्दारीका साथ गरिने कार्यबाट मात्र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने सन्देश बोकेको जितिया पर्वले हाम्रो व्यक्तिगत जीवन र राष्ट्रको जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउनका लागि इमान्दारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुख, शान्तिका लागि लोकदेवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्माशुद्धी गर्दै विभिन्न परिकार खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology