• Friday 24th of July 2026

विमान दुर्घनामा एकै परिवारका चारको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौँ जानुभएको थियो । यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उहाँ घर फर्किंदै हुनुहुन्थ्यो । गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा हुनुहुन्थ्यो भने नातिनातिना पनि घर जान पाउँदा निकै खुसी थिए ।

जाडोको बिदाभएका बेला बाबा जन्मेको गाउँ जान पाउँदा बालबालिकामा खुसीको सीमा नै थिएन तर उनीहरुको खुसी विमानबाट झर्न नपाउँदै विलय भयो । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो ।

लामो समय गाउँ नआएका छोरा र नातिनातीनीलाई गाउँमा घुमाउने, आफ्नो माइतीघरमा लगेर पूजामा सहभागी गराउने, भेटघाट, नातागोता आफन्तसँग रमाउने जमुनाको सपना पनि चकनाचुर भयो । उहाँ आधा समय काठमाडौँ र आधा समय गाउँमै बस्दै आउनुभएको थियो । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो भने उहाँकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहनुभएको आफन्तसमेत रहनुभएकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले जानकारी दिनुभयो ।

एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त हुनुभएकीले अस्पताल भर्ना गरिएको छ । आफैले टिकट काटेर घर पठाउनुभएकी उहाँ सदाका लागि एक्लिनुभएको छ । एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकमग्न भएको छ । गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताउनुभयो ।

विमान दुर्घनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएका छन् । सो घटनामा निधन हुनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उहाँको १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि सोही दुर्घटनामा निधन भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology