• Saturday 25th of July 2026

भनसुन र नातागोताका आधारमा काम हुँदैनः मन्त्री किराती


  • गोकर्णेश्वर अनलाइन

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताउनुभएको हो । यस्तै, उहाँले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो । उहाँले हवाई उडानलाइ व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पार्नुभयो । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“म जहाजको ककपिटमा छु । एकैचोटी जहाज उडाउँदैनौँ । सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ । जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन ।” यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उहाँको भनाइ छ ।

हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । उहाँले भन्नुभयो,“काम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु ।”

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको हो । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो ।

विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षाकुमारीको कोखबाट जन्मनुभएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) निर्वाचित हुनुभएको हो । स्थानीय परिवेषमा घुलमिल हुने र जनताको सुखदुःखमा साथसाथै रहने कार्यशैलीले उहाँ जनतामाझ स्थापित हुनुहुन्छ । पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीलाई कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका उहाँ जनजाति सांसदमा बेग्लै लवजमा बोल्ने र जनतासँग घुलमिल भएर काम गर्ने स्वभाव छ । उहाँको यही अभ्यासले उहाँको राजनीतिक यात्रालाई ओझिलो बनाएको छ ।

पर्यटनमन्त्रीका रुपमा मन्त्री किरातीलाई कोभिड–१९ को महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ । सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशकको अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखा सार्वजनिक गरिसकेको छ ।

भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्नु मन्त्री किरातीको मुख्य जिम्मेवारी हुनेछ । विसं २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताउनुभएका किरातीले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ युगमा लैजाने जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology