• Saturday 25th of July 2026

विमान दुर्घटनापछि हवाई यात्रु घटे


  • गोकर्णेश्वर अनलाइन

यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो ।

भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन ।

पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले यहाँबाट हवाई यात्रा गरेका छन् । भरतपुर–काठमाडौँ रुटका साथै काठमाडौँ–भरतपुर रुटमा पनि हवाई यात्रुको सङ्ख्या घटेको छ । कार्यालयका अनुसार पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रु काठमाडौँबाट भरतपुर आएका थिए । यस्तै माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सात जना हवाई मार्ग हुँदै काठमाडौँबाट चितवन आएका छन् ।

अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुध्द एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ ।

विकेले भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको हुनसक्ने बताउनुभयो । विमानस्थल आसपासमा रहेका भौतिक संरचना विमानस्थल अनुसारको मापदण्ड अनुसार नबनेकाले केही समस्या भएको उहाँले बताउनुभयो ।

भरतपुर विमानस्थलको धावनमार्गमा रहेका अप्ठ्याराका कारणसमेत यात्रुहरुलाई हवाई यात्रा असहज बनेको कार्यालयले जनाएको छ । धावनमार्ग वरपर दुई सय ५७ वटा घर मापदण्ड विपरीत बनेका छन् । अहिले विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटर छ । धावनमार्ग नजिक अग्ला घरका कारण विमानले पूरै धावनमार्ग प्रयोग गर्न नसक्ने अवस्था रहेको छ ।

यसैबीच यात्रुको चाप घटेपछि विमान कम्पनीले हवाई भाडासमेत घटाएका छन् । एकतर्फी भाडादर रु पाँच हजारसम्म रहेकोमा पछिल्ला दिनमा विमान कम्पनीले रु दुई हजार पाँच सय भाडा कायम गरेर अनलाइन टिकट बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology