• Saturday 25th of July 2026

अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा


  • गोकर्णेश्वर अनलाइन

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला (ढुङ्गा) जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको शिलामा आज बिहान महापूजा गरियो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा महापूजा गर्नुभएको थियो । महन्थ रामतपेश्वरका उत्तराधिकारी रोशन दासले शिलामा पूजाका लागि आज दिनभर मन्दिर प्राङ्गणमा राखिने र भोलि बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी अयोध्या लगिने जानकारी दिनुभयो ।

उहाँले जानकी मन्दिरका महन्थ दास, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत श्रद्धालुले शिला लिएर त्यसतर्फ जाने कार्यक्रम रहेको बताउनुभयो । महापूजा समारोहमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, नेता निधि, एमाले नेत्री जुलीकुमारी महतो (महासेठ) लगायतको उपस्थिति थियो ।

‘नेपालको सौभाग्य’

भारतको अयोध्यामा लामो विवादपछि सर्वोच्च अदाललतको आदेशमा राममन्दिर निर्माण हुँदैछ । मार्च २०२० देखि निर्माण सुरु भएको मन्दिर आगामी सन् २०२४ जनवरीमा निर्माण गरिसक्ने लक्ष्य रहेकामा त्यसको मुख्य गर्भ मागमा राखिने भगवान्को रामको बालापनका नेपालको ढुङ्गाबाट निर्माण हुँदैछ । “विश्वविख्यात अयोध्या नगरीमा बन्ने राममन्दिरमा नेपालको शिलाबाट निर्मित मूर्ति राख्ने कुरा अत्यन्त महत्वपूर्ण छ’ सहायक महन्थ रोशन दासले भन्नुभयो, “यसले नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई दर्शाउने मात्रै छैन विश्वमै नेपालको गाथा पनि विस्तार हुनेछ, जुन हाम्रो लागि सौभाग्यको कुरा हो ।”

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि नेपालको पवित्र नदी (कालीगण्डकी) बाट ल्याइएको शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैँमा ऐतिहासिक भएको बताउनुभयो । उहाँले भारतमा तमाम नदी र नदीमा ढुङ्गा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम उदाहरणका रुपमा लिनुपर्छ भन्नुभयोे ।

नेपालबाट भारतमा शिला पठाउन मुख्य भूमिका निर्वाह गर्नुभएका नेता निधिले विश्वप्रसिद्ध राम मन्दिरमा नेपालको शिला राख्दा नेपालको धार्मिक महत्व मात्र नभई ऐतिहासिक र पौराणिक महत्वलाई पनि बल पु¥याएको बताउनुभयो । उहाँले यस कार्यले नेपालमा धार्मिक पर्यटन वृद्धिका लागि कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अयोध्यामा ७० एकड जमिनमा तीन सय ६० फिट लामो, दुई सय ३५ फिट चौडा र एक सय ६१ फिट अग्लो मन्दिर बन्दैछ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लागिएको २३ टन र १५ टनका शिलाबाट बनाइने भगवान् रामको बालापनको मूर्ति राखिने सहायक महन्थ दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology