• Saturday 25th of July 2026

पर्सामा सात हजार करदाता थपिए


  • गोकर्णेश्वर अनलाइन

चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच सय ९२, आयकरतर्फ एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्फ पाँच सय २२ तथा अन्तःशुल्कतर्फ एक सय ३३ करदाता थपिएका छन् । योसँगै पर्सामा करदाताको सङ्ख्या एक लाख २४ हजार तीन सय पाँच पुगेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो । पर्सामा प्यानतर्फ सबैभन्दा बढी ७९ हजार २३, आयकरतर्फ ४० हजार चार सय १०, मूल्य अभिवृद्धि करतर्फ १० हजार एक सय ३६ तथा अन्तःशुल्कतर्फ एक हजार नौ सय ५१ करदाता रहेका छन् ।

यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आव २०७९÷८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आव २०७९÷८० को छ महिनाको अवधिमा रु चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६६ दशमलव ६१ प्रतिशत अर्थात रु तीन अर्ब १५ करोड १६ लाखमात्र सङ्कलन भएको छ ।

चालु आवको छ महिनामा अन्तःशुल्कतर्फ रु एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ रु एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ रु ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकरतर्फ रु दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ रु दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्धलगायतका कारणले राजस्व सङ्कलन घटेको क्षेत्रीको भनाइ छ । आव २०७८÷७९ मा सो कार्यालयले रु नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार सङ्कलन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology