• Friday 24th of July 2026

वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल


  • गोकर्णेश्वर अनलाइन

वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेवापसले वातावरणका विषयमा लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै नेवापसले अघि सारेका कार्यहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले नेवापसले समसामयिक वातावरणीय मुद्दाहरूलाई निकै मेहनतसाथ र मार्मिकरूपमा प्रस्तुत गरेकामा धन्यवादसमेत दिनुभयो ।

नेवापसको ज्ञापनपत्रमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय भएको जनाउँदै भौगोलिक बनोट र गरिबीले गर्दा नेपाल यस समस्याबाट प्रभावित मुलुकहरूको अग्रस्थानमा रहेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, “जलवायु परिवर्तनमा नेपालको खासै भूमिका नभए पनि नेपालमा यसबाट पर्ने असरहरू भने अरू सरह बेहोर्नुपर्ने छ । यो अवस्था नेपालजस्तो कमजोर आर्थिक तथा भौतिक पूर्वाधार एवं प्राकृतिक र हिमालयमा पर्ने प्रभाव हाम्रो लागि सङ्कटको विषय बन्नेछ । नेपालको शिरशोभाका रूपमा रहेका यी हिमपर्वतहरूमा हिउँ रहेन भने भविष्यमा नेपालले पर्यटनबाट प्राप्त गर्ने ठूलो आयस्रोत गुमाउनुपर्ने निश्चित छ । त्यसैगरी दक्षिण एसियाको वाटर टावर भनिने हिमालको हिउँ लोप हुनेमात्र होइन, विश्वको एक तिहाइ जनसङ्ख्या पिउने पानीबाट समेत वञ्चित हुने खतरा छ ।”

हिमनदीहरू पग्लने र त्यसको प्रभाव हिमताल विष्फोटन हुने हाम्रो अघिल्तिरको अर्को विपत्तिको सूचक हो, एवं त्यतिखेर हाम्रा थुप्रै नदीमा बनेका बाँध र नदी आसपासका बस्तीहरूको भविष्य अनिश्चित बन्ने खतरा छ भन्दै ज्ञापनपत्रमा यसले जलविद्युत्मा गरिने लगानीका सम्भावनाहरूमा ठूलो प्रश्न उठ्ने र कतै बाढी त कतै पानीको स्रोत सुक्दै गएको अवस्था छ भनिएको छ ।

ज्ञापनपत्रमा मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक (मेलम्ची) लगायतका स्थानहरूमा देखिएका प्राकृतिक प्रकोपहरूले जलवायु परिवर्तनका उच्चतम् प्रभावहरूलाई पुष्टि गरेको तथा नेपालको प्राकृतिक प्रकोपको चक्रले बर्सेनि खाद्यसुरक्षा, जैविक विविधता, खानेपानी, कृषि, महामारीलगायत मानिसको जीविकोपार्जनमा हरेक वर्ष नयाँनयाँ चुनौतीहरू थपिँदै गएका भन्दै यसबाट बर्सेनि मानवीय क्षति पनि भइरहेको छ र यसमा पनि बालबालिका तथा महिलाहरू अझ बढी प्रभावित छन् भनिएको छ ।

नेपालको सामुदायिक वनलाई विश्व समुदायमा नमुनाका रूपमा लिन थालिएकै बेला चुरे र तराई क्षेत्रमा भने वन विनाशको व्यथा घट्नुको सट्टा बढिरहेको, नेपालका वनमा रहेका स्रोतहरु कुहिने र ह्रास हुने क्रम बढिरहेको, विदेशबाट बर्सेनि अर्बौं रुपैयाँका काठ आयात भइरहेको तथा नेपालका प्राकृतिक स्रोतका रूपमा रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण र सदुपयोगसमेत हुन सकिरहेको छैन, ज्ञापनपत्रमा भनिएको छ ।

नेवापसले विगत ३७ वर्षदेखि वातावरण संरक्षण र दिगो विकासका बारेमा जनचेतना जगाउन सञ्चारका विभिन्न माध्यममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि त्यस अवसरमा अवगत गराइएको थियो ।

समूहले यो वर्ष सन् २०२३ नेपालमा संरक्षण क्षेत्रको ५०औँ वर्षगाँठको अवसरमा विविध कार्यक्रम गर्ने तथा वातावरण क्षेत्रमा कलम चलाउँदै आएका दक्षिणपूर्वी एसिया र अन्य केही मुलुकका पत्रकारहरूलाई नेपालमा भेला गराएर नेपालका जलवायुजन्य मुद्दाहरूमा केन्द्रित रहेर स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट संसारभरि सूचना सम्प्रेषण गर्ने लक्ष्य लिएको पनि जानकारी गराएको थियो ।

वरिष्ठ पत्रकार भैरव रिसाल, समूहका अध्यक्ष रोशनी अधिकारी समेत समूहका पदाधिकारीको नेतृत्वमा गएको टोलीले त्यस अवसरमा प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वकाल सफल हुने भन्दै बधाई एवं शुभकामना दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology