• Friday 24th of July 2026

कलाकार विदेशिने अवस्था रोकिनुपर्छ : उपराष्ट्रपति


  • गोकर्णेश्वर अनलाइन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताउनुभयो ।

“प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरिती, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रले भूमिका खेल्दै आएका छन्”, उहाँले भन्नुभयो । भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रले गरिरहेको जनाउँदै उहाँले देशभक्ति भावले ओतप्रोत बनाउन तथा राष्ट्रिय एकताको प्रवद्र्धन, भौगोलिक अखण्डताको रक्षामा चलचित्रले योगदान पु¥याउँदै आएको बताउनुभयो ।

नेपाली चलचित्र क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उहाँले विशेष गरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो । “समाजका विकृतिविरुद्ध प्रहार गर्दै सामाजिक रुपान्तरणको सन्देशसहित हास्य चेत मिसिएका यसप्रकारका चलचित्र आमनेपालीका लागि नियमित मनोञ्जनको प्रमुख माध्यम बनिरहेका छन्”, उपराष्ट्रपति पुनले भन्नुभयो, “हास्य कलाकारको व्यङ्ग्यकला मनोरञ्जनमात्रै नभइ नीति निर्माण तहमा पनि प्रभाव पार्नसक्ने माध्यम बनेका छन् ।”

देशको राजनीतिक तथा सामाजिक रुपान्तरण, भाषा, संस्कृति, गीत, सङ्गीत, साहित्यको संरक्षण, प्रवद्र्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय सङ्ग्रौलालगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology