• Friday 24th of July 2026

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै


  • गोकर्णेश्वर अनलाइन

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन र बाँडफाँट भएको छ ।

त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सामूहिक लगानी कोषलाईसमेत प्राथमिक शेयरको निष्कासन तथा बाँडफाँट भइसकेको छ ।

निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो शेयर’मार्फत अनलाइन प्रणालीबाट समेत शेयर खरिदको आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology