• Friday 24th of July 2026

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा


  • गोकर्णेश्वर अनलाइन

दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उहाँले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउनुहुन्छ । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उहाँले भन्नुभयो, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।”

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुग्नुभयो । तर कसैलाई पनि भेटाउनुभएको छैन । फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उहाँ बताउनुहुन्छ । “अफिसमा गए कोही भेटिनुहुन्न”, उहाँले भन्नुभयो, “फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ ।”

उहाँ बिरामी पनि हुनुहुन्छ । त्यही पैसा आएपछि शल्यक्रिया गर्ने सोच बनाएको उहाँ बताउनुहुन्छ । तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि रु छ हजार सो सहकारीमा बचत गर्नुभएको छ । त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उहाँको भनाइ छ । “पसिना बगाएर कमाएर पैसा हो”, उहाँले भन्नुभयो, “दुःख गरेर बचत गरेको पैसा किन नपाइएको हो, हामीलाई निकै समस्या भयो ।” उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उहाँको गुनासो छ ।

आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो । बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology