• Friday 24th of July 2026

वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब


  • गोकर्णेश्वर अनलाइन

नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा लिएको थियो । वडा कार्यालयबाट सामग्री लुटेर चार वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको थिएन । नमोबुद्ध नगरपालिका–३ कै विष्णु पौडेलको निजी कारमा लगेको ल्यापटप कम्प्युटर, तीन माइन्यूट बुक, नगद रु ३० हजार र केही रसिद प्याडहरु फिर्ता नभएको वडाध्यक्ष रामशरण हुमागाईँले बताउनुभयो । “कार अर्कै बाटो गएकाले प्रहरीले फेला पार्न सकेन, कारबाहेकको अन्य सामग्री प्रहरीले कार्यालयमा फिर्ता गराइसक्यो”, हुमागाईँले भन्नुभयो । नेपाली काङ्ग्रेस समर्थित भुपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निबवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको करीब तीन दर्जनको समूहले भेँडाबरीस्थित वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सी, कार्पेटलगायत सबै सामग्री लुटेर तीन वटा ट्रक र एक निजी कारमा लगिरहेको अवस्थामा तीन वटा ट्रक जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो ।

“हामी पुग्नेबित्तिकै गाडी छाडेर सबै भागे, कसैलाई पनि नियन्त्रणमा लिन सकिएन, नियन्त्रित सामग्री सुरक्षित गरी कार्यालयमा फर्काइयो, कारमा लगेको सामग्री फेला पार्न सकिएन, कार्यालयसँग फिर्ता नभएको सामग्रीको सूची मागेका छौँ”, प्रहरी उपरीक्षक जयराज सापकोटाले भन्नुभयो । वडा कार्यालयका लागि व्यवस्थित गरिएको जमीन नापजाँचसम्बन्धी काम गर्न वडाध्यक्ष हुमागाईँ नापी कार्यालय धुलिखेल गएको मौकामा बिहीबार बिहान ११ बजे नेपाली काङ्गे्रसका स्थानीय नेता÷कार्यकर्ताले वडा सदस्य, वडा सचिव र वडाका एक कर्मचारीलाई बाहिर निकाली वडा कार्यालयका सम्पूर्ण सामग्री लुटेर लगेका थिए । केही समयदेखि वडा कार्यालय सार्ने विषयमा काङ्ग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालचौरमा सार्नुपर्छ भन्दै दबाब दिँदै आएको वडाध्यक्ष हुमागाईँले बताउनुभयो । उहाँका अनुसार अस्थायीरूपमा भेँडाबारीस्थित एक घरमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउरालीडाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिका समेतको बैठकले निर्णय गरिसकेको छ । भुपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले बिहीबार आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको तर सबै सामग्री फिर्ता भइसकेको दाबी गर्नुभयो । उहाँले वडा कार्यालयको सामग्री नगरपालिका कार्यालयमा बुझाउन लाग्दा प्रहरीले हस्तक्षेप गरी फिर्ता गरेको बताउनुभयो ।

नगरप्रमुख टङ्कप्रसाद शर्माले भने वडा कार्यालयका कुनै पनि सामग्री नगर कार्यालयमा नआएको बताउनुभयो । वडाध्यक्ष हुमागाईँका अनुसार वडा कार्यालयको सामग्री लुट्ने तथा महत्वूर्ण सामग्री गायब बनाउनेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा जाने तयारी भइरहेको छ । “नगर कार्यपालिकाको बैठकपछि सरकारी कागजात लुट्ने र गायब पार्नेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा छौँ”, वडाध्यक्ष हुमागाईँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology