१६ कात्तिक (रासस÷एएनआई) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसिइपी) को सम्मेलनमा सहभागीता जनाउनु हुने भएको छ । सम्मेलनमा सहभागी हुने बाहेक उहाँले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नुहुने छ । भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उहाँले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ । बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ ।
त्यसपछि उहाँ थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुनुहुने छ । आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्नुहुने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
