• Tuesday 8th of September 2026

जडीबुटी निकासीमा प्रतिबन्ध हटेपछि व्यवसायी उत्साहित


  • गोकर्णेश्वर अनलाइन

भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी ठप्प हुँदै आएको थियो । भारत सरकारले गत महिना अक्टुवर १ मा भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जडीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएकाले नेपाली व्यवसायी उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो । नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच काठमाडौँमा गत भदौमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले सूचीकृत नगरेका जडीबुटीमध्ये ३१ प्रकारका जडीबुटीलाई तत्काल सूचीकृत गर्ने सहमतिबमोजिम भारत निकासी हुने जडीबुटीलाई सूचीकृत गरिएको सङ्घका अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी भारत निकासी हुने ३१ प्रकारका जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइएपछि अब फेरि पहिलेझैँ निकासी शुरु हुनेछ ।

“नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको छ”, नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष अन्सारीले भन्नुुभयो, “प्रतिबन्ध हटेपछि अब फेरि पहिलेझैँ जडीबुटी व्यवसाय फस्टाउनेछ ।” लामो समयदेखि निरन्तरको माग र प्रयासपछि भारत सरकारले राजपत्रमा सूचना जारी गरेर प्रतिबन्ध हटाएको जानकारी गराए पनि अझै केही जडीबुटीको प्रतिबन्ध फुकुवा नगरिएको अध्यक्ष अन्सारीले बताउनुभयो । भारतमा सबैभन्दा बढी निकासी हुँदै आएको रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतमा लगाइएको प्रतिबन्ध हटेको छ । नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएसँगै नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको व्यवसायी शकील अहमद जसगढले बताउनुभयो ।

नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो मुलुकमा निकासी हुने गर्दछ । नेपाल जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार केही वर्ष पहिलेसम्म यो नाकाबाट वर्षेनी ७० लाख किलोसम्म जडीबुटी निकासी हुने गरेकामा हाल एक लाख किलो पुग्न पनि मुस्किल भएको थियो । प्रतिबन्ध फुकुवासँगै गोदाममा थन्किएको ठूलो परिमाणको जडीबुटी निकासी हुने आशामा व्यवसायी खुशी भएको व्यवसायी जस गढले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology