• Friday 24th of July 2026

‘बङ्गलादेशीहरु नेपाललाई स्वर्ग मान्छन् ’


  • गोकर्णेश्वर अनलाइन

–श्याम रिमाल काठमाडौँ, २७ कात्तिक(रासस): नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने सङ्घको विश्वास छ । सङ्घका अध्यक्ष दीनदया रिजालले रासससँग कुरा गर्दै भन्नुभयो, “बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई नेपालले पनि बुझिदिनुपर्छ ।” नेपाल, भारत र बङ्गलादेशबीच फूलबारी नाका खुलाउने सहमति गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँका अनुसार जीप सवारीमा काकरभिट्टा–बूढीमारी सिमाना पुग्न साढे तीन घण्टा लाग्छ भने भद्र्रपुरबाट फूलबारी नाका पुग्न आधा घण्टा मात्र भए पुग्छ । सो नाका खुलेमा नेपालको पहुँच समुद्रसम्म पुग्ने उहाँको भनाइ छ । बङ्गलादेशमा स्याउ, सुन्तला, नास्पाती, आलुबखडा, अलैँची, अम्लिसो, तेजपात, सिमेण्ट, गिट्टीको माग बढी भएकाले नेपालले ती सामग्री नेपालबाट निर्यात गर्न सकिने रिजालले बताउनुभयो । “बङ्गलादेशमा निर्मित औषधि र कपडा संसारका प्रायः सबै देशमा जान्छ, हामीले उनीहरुबाट त्यससम्बन्धी सीप सिकेर आफ्नै उत्पादन गर्न सक्छौँ ”, रिजालले भन्नुभयो ।

बङ्गलादेशको चिकित्सा शिक्षा पनि उत्कृष्ट रहेको उहाँको भनाइ छ । केही वर्ष पहिले ढाका–काठमाडौँ–ढाका बस सेवा एक दिन मात्र चली बन्द भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग रिजालको छ । राष्ट्रिय बङ्गाली भाषालाई निकै महत्व दिने बङ्गालीहरु आफ्नो संस्कृति निकै मन पराउने तथा चाडबाडमा खानपिन र पहिरन पहिरिँदा स्वदेशी उत्पादन नै प्रयोग गर्न रुचाउने गर्छन् । तिनको यो बानी नेपालीले पनि ग्रहण गर्नुपर्ने सुझाव रिजाल दिनुहुन्छ । साहित्य, कला र संस्कृति सम्बन्धमा पनि नेपाल र बङ्गलादेशले आदानप्रदान गर्नुपर्ने उहाँको भनाइ छ । “बङ्गलादेशीहरु हिमाल, पहाड, डाँडाकाँडा देखेर आनन्दित हुन्छन्, नेपालको प्रकृतिप्रति उनीहरुको लगाव छ, उनीहरु नेपाली भूमि निकै मन पराउँछन्, यसलाई स्वर्ग नै मान्छन्”, रिजालले भन्नुभयो, “त्यसैले बङ्गलादेशीहरुलाई नेपालमा आकर्षित गर्न नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । ”

सार्क र बिम्स्टेकको सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि मङ्गलबारदेखि यहाँ हुनुहुन्छ । उहाँले कला, संस्कृति र पुरातत्वमा अग्रणी मुलुक भक्तपुरको मङ्गलबार नै भ्रमण गरिसक्नुभएको छ भने बिहीबार प्रकृतिका धनी पोखरा, रुपाकोट र शुक्रबार चन्द्रागिरि जाँदै हुनुहुन्छ । बङ्गलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएकाले पनि नेपाल सधैँ बङ्गालीहरुको हृदयको माझमा छ । सार्क स्थापनामा नेपाल र बङ्गलादेशले विशेष पहल गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology