• Saturday 25th of July 2026

सुध्रियो शेयर बजार


  • गोकर्णेश्वर अनलाइन

मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७.२३ मा पुगेको छ । परिसूचक बढेपनि मङ्गलबारको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । मङ्गलबार रु २९ करोड ५८ लाख ६९ हजार १८० को कारोबार भएकामा आज कुल १६५ कम्पनीको सात लाख ३८ हजार ४४६ कित्ता शेयर रु २१ करोड २३ लाख ६३ हजार ७३६ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सो उपसमूहको शेयर २६.१३ अङ्कले घटेको छ । बैङ्किङ उपसमूह ४.९३ अङ्कले बढ्दा होटल १२.६४, विकास बैङ्क १४, जलविद्युत् ७.५२, वित्त ५.४१, निर्जीवन बीमा २६.६८, उत्पादन २२.५९, अन्य १०.२१, लघुवित्त १४.९३, जीवन बीमा ६०.१८ र सामूहिक लगानी कोषको शेयर ०.२५ अङ्कले बढ्यो । स्टकका अनुसार कारोबार रकमका आधारमा आज एनएमबी बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ७५ लाख १९ हजार ३९२ मा खरिदबिक्री भयो ।

यस्तै हिमालयन डिस्टिलरीको रु एक करोड ७४ लाख ५४ हजार ९०, नबिल बैङ्कको रु एक करोड ३४ लाख ९२ हजार १३०, नेपाल बैङ्क लिमिटेडको रु एक करोड १२ लाख ८३ हजार ४७१ र एनआइसी एशिया बैङ्कको शेयर रु ६७ लाख ६३ हजार १०१ मा कारोबार भयो । परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ६.९२ प्रतिशतले गुमाए । यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१९, नबिल इक्विटी फण्ड ३.८४, वरुण हाइड्रोपावर कम्पनी २.२२ र पाँचथर पावर कम्पाण्ट लिमिटेडका शेयरधनीले १.९८ प्रतिशतले गुमाए । रिडी हाइड्रोपावरका शेयरधनीले १० प्रतिशतले कमाउँदा गुर्खाज् फाइनान्स ९.४३, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट ६.५२, गुराँस लघुवित्त वित्तीय संस्था ६.२५ र एनएमबी हाइब्रिड फण्ड–१ का लगानीकर्ताले ५.८४ प्रतिशतले कमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology