• Friday 24th of July 2026

‘विद्यालयमा प्रभु येशुको प्रार्थना गराए संरचना निर्माणको प्रलोभन’


  • गोकर्णेश्वर अनलाइन

सामुदायिक विद्यालयमा कोरियाली धारका इसाईहरू प्रवेश गरी हप्तामा एक दिन सबै विद्यार्थी राखेर प्रार्थना गर्ने वातावरण मिलाइदिए छात्रावाससहित भौतिक संरचना निर्माण गरिदिने वचन दिन थालेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थली भन्ने स्थानमा रहेको बालसुधार माध्यमिक विद्यालयमा प्रवेश गरी एकान्तकुनाबाट आएको भन्दै यस्तो प्रलोभन देखाएको प्रधानाध्यापक विन्दुराज खनालले राससलाई जानकारी दिनुभयो । प्रस्ताव स्वीकार गरे सबै कुरा थाहा पाउनुहुन्छ भन्दै त्यो समूहले संस्था र त्यसमा संलग्न व्यक्तिको नामसमेत बताउन चाहेन । बरु प्रभु येशुको प्रार्थना गरे सबै ठीक हुने दाबी गरेको थियो । “हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी भए पनि विद्यालयमा सरस्वती वन्दनाबाहेक कुनै पनि धार्मिक क्रियाकलाप गर्दैनौँ, इसाई धर्मका गतिविधि पनि विद्यालयमा गर्न मिल्दैन भनी फर्काइदिएँ”, उहाँले भन्नुभयो । नेपालको संविधान २०७२ को धारा, २६ मा धार्मिक स्वतन्त्रताको हक छ ।

उपधारा, १ मा ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने’ उल्लेख गरिएको छ । यसैगरी धारा, २६ को उपधारा, ३ मा ‘धार्मिक स्वतन्त्रताको हकको प्रयोग गर्दा सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउने अथवा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ । यसैगरी संविधानको धारा, ४ मा ‘नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको’ उल्लेख गरिएको छ । यसको स्पष्टीकरणमा यस धाराको प्रयोजनका लागि ‘धर्मरिपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । धर्मनिरपेक्षताका नाममा विभिन्न प्रलोभनका माध्यमबाट धर्म परिवर्तन गराउने क्रम राजधानीको काठ क्षेत्रमै बढेको स्थानीयवासी दीपकसिंह भण्डारीले बताउनुभयो ।

“धर्मनिरपेक्षता घोषणापछि जोरपाटीमा होटल दर्ता गरेर चर्च चलाई धर्मपरिवर्तन गराउँदा पनि राज्य संयन्त्र मौन बस्नु रहस्यको विषय छ, जुन संविधान विपरीतसमेत छ”, उहाँले भन्नुभयो । सामुदायिक विद्यालय भएकाले बाहिर जिल्लाबाट आएका विपन्न वर्गका बालबालिका यहाँ अध्ययन गर्छन् । हप्तामा एकपटक प्रार्थना गर्न दिए विद्यालयमा भौतिक संरचना निर्माण गरिदिने वचन दिएको संस्थाले धर्मपरिवर्तन गराउने भएकाले अब आइन्दा यस्तो प्रस्ताव लिएर नछिर्न चेतावनी दिइएको प्रधानाध्यापक खनालले बताउनुभयो । भौतिक संरचना निर्माणको प्रस्तावमात्र राख्दा विद्यालय प्रशासन सकारात्मक नभएपछि त्यो समूहले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धतासमेत दोहो¥याएको थियो । संस्था एवं आएका व्यक्तिको नामसमेत बताउन नचाहेको समूहलाई यहाँभन्दा बढी गरे प्रहरी बोलाउने भनेपछि बाहिरिएको विद्यालयले जनाएको छ ।

विद्यालय शिक्षासमेत हेर्ने जिम्मेवारी पाएको नगरपालिका–२ का अध्यक्ष कृष्णबहादुर पण्डित संविधानअनुसार यस्तो प्रस्ताव राख्न नपाइने भएकाले त्यस्तो समूहले दुःख दिएको गुनासो आए कारवाही गरिने बताउनुहुन्छ । खान दिन्छु, भवन बनाइदिन्छु भन्ने प्रलोभनका आधारमा धर्म विशेषको प्रार्थना गरिनु कानूनीरूपमा दण्डनीय हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology