• Tuesday 8th of September 2026

‘अकुपाइ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन’


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताउनुभयो । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताउनुभयो । उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाइ टुँडिखेल अभियान’सञ्चालन गर्नु कुनै आवश्यक छैन, आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुन्छ, टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै रहेको हो ।” करीब तीन हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाइ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । प्रमुख शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने जनाउँदै सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न पनि सबै अभियानकर्मीसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ ।” यता सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने पुनःनिर्माणका सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताउनुभयो । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीको भनाइ छ । अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हँुदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ । “महानगरपालिका धुलो–धँुवामुक्त र हरियालीयुक्तको अभियानमा छ”, प्रमुख शाक्यले भन्नुभयो, “चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology