• Sunday 26th of July 2026

जैविक विविधता संरक्षण जनप्रतिनिधिको प्रतिबद्धता


  • गोकर्णेश्वर अनलाइन

जैविक विविधता संरक्षण अभियानमा सक्रियरुपमा लाग्न जानप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । वातावरणीय सन्तुलन बिग्रंदै गइरहेका बेला रुकुमपूर्व र रुकुमपश्चिमका जनप्रतिनिधिले वातावरणीय सन्तुलनलाई कायम राख्न जैविक विविधताको संरक्षण महत्वपूर्ण भएको बताएका छन् । जैविक विविधताको संरक्षण नगरे कुनै पनि प्राणीको अस्तित्वसमेत नरहने भन्दै अब नीतिनियम बनाएरै भए पनि जैविक विविधता संरक्षणमा लाग्ने रुकुमपूर्वको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो । “हाम्रै वरपर पाइने जल, जमिन तथा प्रकृतिको संरक्षण गर्ने जिम्मा स्थानीय तहको काधमा छ”, उहाँले भन्नुभयो, “सिस्नेमा बहुमूल्य जडीबुटीदेखि लिएर थुपै्र प्रकारका प्राणी पनि पाइन्छन् ।” संरक्षण र प्रचारप्रसारको अभावमा परेका यी सबै कुराको संरक्षण, संवद्र्धन, खोज अनुसन्धान र व्यवस्थापन गर्नका लागि लाग्ने उहाँको भनाइ छ । त्यसैगरी पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले सामुदायिक वनको संरक्षणमा स्थानीय सरकार जुट्ने बताउनुभयो ।

गाउँपालिकामा पाइने वनस्पति तथा प्राणीको संरक्षणका लागि चोरी सिकारी गर्नुहुँदैन भनेर जनस्तरसम्म जनचेतनाका कार्यक्रम गर्ने, लोपोन्मुख प्राणी रेडपाण्डालगायत अन्य जीवजन्तुको चरण क्षेत्र र बासस्थान पहिचान गरी व्यवस्थापन गर्न लागिपर्ने उहाँले बताउनुभयो । त्यसैगरी रुकुम (पश्चिम) बाफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले पृथ्वीमा मानिसको जति अधिकार छ उति नै अन्य जीव प्राणी तथा वनस्पतिको पनि रहेको बताउनुभयो । पहिले प्रशस्तमात्रामा पाइने वन्यजन्तु तथा वनस्पति अहिले मानवका विविध गतिविधिले लोप तथा विनाश हुँदै गएको अध्यक्ष केसी बताउनुहुन्छ । जैविक विविधता संरक्षणकै लागि एकीकृत बस्ती निर्माण गर्ने, जनचेतना फैलाउने लगायतका कार्यक्रम गर्ने उहाँको भनाइ छ । त्यसैगरी जिल्ला समन्वय समिति उपप्रमुख भीमकुमारी पुनले जैविक विविधताले गर्दा नै मानिसको अस्तित्व रहेको भन्दै जैविक विविधता संरक्षणका लागि सबै निकाय आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

पहिले मेलापात गर्दा जङ्गल, घर वरपर प्रशस्तमात्रामा पाइने रेडपाण्डा, बाघ, भालु, मृग लगायतका प्राणी चोरीसिकारी तथा वन फँडानी, आगलागीका कारण लोप हुँदै गएकाले अब तिनीहरुको संरक्षणमा जिम्मेवारी भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रुकुमपूर्व र रुकुमपश्चिमका जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी सहभागी भएको दुईदिने गोष्ठीमा समृद्धि फाउण्डेशन नेपाल ललितपुरका कार्यकारी निर्देशक ताथा तालीम विज्ञ कमल भण्डारीले गोष्ठीको सहजीकरण गर्नुभएको थियो । उहाँले गोष्ठीमा जैविक विविधता र मानवको अन्तरसम्बन्ध तथा स्थानीय सरकारको सम्बन्धमा निर्माण गरिएका नीतिगत व्यवस्था, जैविक विविधता संरक्षणको महत्व, कानूनी व्यवस्था र वर्तमान सवालका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology