• Saturday 25th of July 2026

विद्युत् आयोजनाको काम अन्तिम चरणमा


  • गोकर्णेश्वर अनलाइन

रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम अगाडि बढाइएको छ । आयोजनाको ८५ प्रतिशत काम सकिएको बताइएको छ । आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीय ४० घरधुरीबाट प्रतिघर रु १० हजारका दरले रु चार लाख लगानी भएको छ । उपभोक्ता समिति अध्यक्ष नरहरि पुनले निर्माण सकिन लागेको बताउनुभयो । गाउँपालिकाले थप बजेट विनियोजन गरेपछि चालू वर्षभित्र काम सकिने उहाँले बताउनुभयो ।

छिट्टै बिजुली बल्ने भएपछि स्थानीय उपभोक्ता खुशी भएका छन् । विद्युत्गृह तथा लाइन विस्तारका लागि आवश्यक सम्पूर्ण सामग्री आइसकेका छन् । सामग्री जडान गरेर विद्युत् बाल्न मात्रै बाँकी रहेको उहाँले बताउनुभएको छ । गाउँमा आयोजनाको पोल गाड्ने र तार तान्ने काम सकिएको छ । बजेट अभावमा आयोजना एक वर्ष ढिलो हुने अनुमान गरिएको भए पनि फागुन १९ गते बसेको कार्यपालिकाको बैठकले विद्युत् शीर्षकको कूल बजेटमध्ये आधा यसमै लगानी गर्ने निर्णय गरेपछि निर्माण सकिने भएको वडा नं २ का वडाध्यक्ष जीवन केसीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology