• Saturday 25th of July 2026

कोडिभ–१९ः झापाका पर्यटकीय क्षेत्र सुनसान


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, दोमुखा, जामुनखाडी, बाँसबारी, कालिकालगायतका सिमसार क्षेत्रमा दैनिक १५ दिनयता आन्तरिक पर्यटकसमेत आउन ठप्प भएको छ । ती क्षेत्रमा खोलिएको होटल व्यवसायमा समेत परेको छ । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले नेपाल सरकारले भिडभाडमा नजान, सभासम्मेलन र गोष्ठीलगायतका कार्यक्रम नगर्न आग्रह गरेसँगै पर्यटक आउन छाडेको बताउनुभयो । “कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण कोही पनि आउँदैनन्”, उहाँले भन्नुभयो, “यसले पर्यटन क्षेत्र धरासायी बनायो ।” उहाँले यतिबेला समितिका पदाधिकारी नै स्थानीय सरकारसँग मिलेर कोभिड–१९ बाट जोगिन स्थानीयवासीलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङलगायत पश्चिम बङ्गालबाट र नेपालकै विभिन्न जिल्लाबाट दैनिक सयौँको सङ्ख्यामा आउने पर्यटक ठप्प भएपछि मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वन सुनसान भएको छ । बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तक्दिर प्रसाइँले चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पर्यटक आउन कम भएको बताउँदै भन्नुभयो, “अहिले त झन ठप्प छ कोही आउँदैनन् ।” दैनिक ५०० भन्दा बढी पर्यटक आउने जामुनखाडी सिमसार क्षेत्रमा समेत पर्यटक आउन छाडेका छन् । प्रदेश नम्बर–१ को सरकारले वन्यजन्तु आरक्षण केन्द्रको रूपमा विकास गरेसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो । जामुनखाडीको मिनी चिडियाखानामा रहेका बाघ, भालु, अजिङ्गर, नील गाई, हरिण, जरायोलगायतका दर्जनौँ जनावर हेर्नका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको थियो । शनिबारसमेत जिल्लाकै विद्यालयबाट आउने विद्यार्थी आउन छाडेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम सिटौलाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology