• Saturday 25th of July 2026

उखु अभावमा चिनी उद्योग बन्द


  • गोकर्णेश्वर अनलाइन

यहाँका उखु किसानलाई अहिले उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन भ्याइनभ्याइ छ । जिल्लाको एक मात्र गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग) भने उखु नपुगेर बन्द भएको छ । चिनी उद्योगमा भुक्तानी लिन आन्दोलन र नाराबाजी गर्नुपर्ने भएपछि उखु घरघरै पेलेर मिठ्ठा बनाउन थालिएको किसानको भनाइ छ । “हामी दुःख गरेर फसल उब्जाउने किसान हौँ, खुन पसिना एक गरेर उब्जाएको उखु उद्योगलाई दिएर भुक्तानीका लागि वर्षौं कुर्नुपर्ने भएपछि आफैँ पेल्न थालेका हौँ”, बर्दिवास नगरपालिका–६ कृष्णपुरका किसान सूर्यनारायण महतोले भन्नुभयो, “पेल्ने मीठा पकाउने दुःख थपिए पनि तत्काल बेचेर नगद हात पर्छ ।” यसपाली एक बिघा क्षेत्रफलमा लगाएको उखुबाली पेलेर मीठा नै तयार गरिरहेको महतोको भनाइ छ । सूर्यनारायण जस्तै सोही बस्तीका भिखन महतोले पनि उखु उद्योगलाई दिनसट्टा आफैँ पेल्न थाल्नुभएको छ । उखु पेलेर मिठ्ठा पकाउन इन्धन उखुकै सुकेका पतई (सुकेका पात, पत्कर) र उखु पेलेपछिको खोइला (सिठी) राम्रो बल्ने हुँदा धेरै खर्च नथपिने किसानको भनाइ छ ।

धार्मिक उत्सव, समारोहमा मिठ्ठाको अनिवार्य प्रयोगको परम्परासँगै यो स्वास्थ्यका लागि गुणकारी मानिएको हुँदा बजार राम्रो पाइने गरिएको किसान बताउँछन् । मिठ्ठा तयार भएपछि ब्यापारी आउन ढिलो भए बजार पु¥याउना साथ उचित मूल्यमा बिक्री हुने र नगद हात पर्ने भएपछि उखु पेल्न लागिएको महतोसहितका आम किसानको भनाइ छ । जिल्लामा उखुखेती सघन हुने बर्दिवासका कृष्णपुर, बिजलपुरा, पशुपतिनगर, पथलैया, मनहरिपुर र प्रेमनगर एवं भङ्गाहा नगरपालिका–४ रामनगरका किसान यतिखेर धमाधम उखु पेल्ने र मिठ्ठा पकाउन व्यस्त भेटिन्छन् । त्यस्तै गौशाला नगरपालिकाका बस्तीमा पनि उखु पेल्न किसान ब्यस्त देखिएका छन् । बर्दिवास–९ पशुपतिनगरका रामचलित्तर महतोले भन्नुभयो, “बरु, जति पेल्न सकिने, भ्याइने हो त्यहीअनुसार उखुखेती गर्छौं ।” विगत केही वर्ष चिनी उद्योगलाई दिएको उखुको भुक्तानी लिन निकै दौडधुप र रोइकराइ गर्नु परेपछि किसान उद्योगलाई उखु दिन झिल्टो मान्न थालेका छन् । यसले उद्योगलाई भने मर्का परेको छ । यसपाली गत पुस १२ गते उखु क्रसिङ (उद्योगमा उखु पेल्ने) थालिएको एभरेष्ट चिनी उद्योग उखु नपुगेरै कैयनपटक बन्द गर्नुपरेको छ ।

उद्योगका उखु प्रबन्धक युगलकिशोर चौरसियाले भन्नुभयो, “यसले गर्दा उद्योगले ठूलो घाटा व्यहोर्नु परेको छ ।” विगतमा भुक्तानीमा केही समय लागेको भए पनि यसपाली भुक्तानी १५÷१५ दिनको तालिकामै हुने गरेको उद्योगले जनाएको छ । यसपाली भुक्तानी नियमित गरिए पनि किसान भने उखु उद्योगलाई दिन छाडेर पेल्न लागेका भेटिन्छन् । खासमा अब उखुखेती घटाउँदै लगेर आफैँ पेल्न सक्ने मात्रामा मात्र गर्ने आम किसानको तयारी देखिन्छ । भङ्गाहा–४ रामनगरका किसान चन्देश्वर महतो भन्नुहुन्छ, “अब जति पेल्न सक्छौँ, त्यति मात्र उखु लगाउँछौँ, भुक्तानीको हण्डर त खेप्नु परेन ।” विगत वर्षमा भुक्तानीमा निकै हण्डर खेप्नुपरेपछि जिल्लामा किसानले उखुखेती छाड्दै गएका छन् । कडा मेहनत र धेरै लगानी पर्ने उखु खेतीको भुक्तानीमा हण्डर खेप्नुपरेपछि यो खेती छाड्ने क्रम बढेको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ । जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो ।

यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपाली सात हजार बिघामा झरेको छ । गत वर्ष ११ हजार बिघामा उखुखेती थियो । उत्पादन लिइने सात हजार बिघामध्ये चार हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु छ । खुट्टी उखु काटेपछि त्यसमा अन्यबाली लगाइने भएकाले आउने अघिल्लो वर्षमा यो खेती झन् स्वात्तै घट्ने अध्यक्ष कुशवाहाको भनाइ छ । यसपाली नयाँ उखुखेती गर्ने किसान खासै नदेखिएका हुँदा अघिल्लो आउने वर्षका लागि अहिले मुडन (पहिलो वर्षको उखु) रहेको दुई हजार ५०० बिघाको खुट्टी उखु रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology