• Saturday 25th of July 2026

असिनाले ५३ लाखको अन्नबाली क्षति


  • गोकर्णेश्वर अनलाइन

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु ५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति पु-याएको थियो । असिनाले किसानको अन्नबाली, तरकारी र फलफूलमा क्षति पु-याएपछि गाउँपालिकाले स्थलगतरूपमै गएर क्षतिको विवरण सङ्कलन गरेको काठेखोला गाउँपालिकाले जनाएको छ । असिनाका कारण धम्जामा रु २५ लाख ९३ हजार ४२० र भिमपोखरामा रु २७ लाख २४ हजार ९०० बराबरको अन्न, फलफूल तथा तरकारी नष्ट भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो । “हामीले स्थलगत रूपमा नै वडा कार्यालयको संयोजनमा क्षतिको विवरण सङ्कलन गरेका हौँ”, विश्वकर्माले भन्नुभयो, “गाउँपालिकाको फापर खेतको क्षतिको विवरण अउन बाँकी छ, क्षतिअनुसार गाउँपालिकाले किसानलाई राहत प्याकेज ल्याउनेछ ।” गाउँपालिकाको धम्जा र भीमपोखरामा गहुँ, जौँ, केराउ, मुसुरो दाल, आलु, प्याज, लसुन, तोरी, काउली, बन्दा, सुन्तलाको फूल, कागती, सिमी र मकैका बिरुवामा क्षति पु-याएको थियो ।

गाउँपालिकाले तत्कालै असिनाले पु-याएको क्षतिका कारण समस्यामा पुगेकालाई कोरोना रोकथाम तथा राहतकोषबाट खाद्यान्न प्रदान गर्ने र पछि कृषि उपजका लागि आवश्यक मल, बीउजस्ता राहतका कार्यक्रम ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ठूलो मात्रमा अन्नबाली तथा तरकारीमा भएको क्षतिको विवरणअनुसार नगद अनुदानसमेत दिइने गाउँपालिका प्रमुख प्रशासकीय विश्वकर्माको भनाइ छ । सोही दिन परेको असिनाको कारण जिल्लाको गलकोट नगरपालिकाका वडा नं ९, १० र ११ वडामा समेत ठूलो क्षति पु-याएको छ । गलकोट नगरपालिकाले स्थलगतरूपमै पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो । क्षति भएको विवरणका आधारमा गलकोट नगरपालिकाले समेत किसानलाई राहत प्याकेज ल्याउने योजनामा रहको काउचाको भनाइ छ । असिनाका कारण आफूले लगाएको तरकारी खेती पूरै नष्ट भएका कारण समस्यामा परेको गलकोट नगरपालिका–९ बरेखानीका युवा किसान मित्रलाल गौतमले बताउनुभयो । उहाँले तीन तहको सरकारले समस्यामा परेका कृषकलाई राहत ल्याउन मागसमेत गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology