• Saturday 25th of July 2026

खेतमै कुहिन थाल्यो तरबुजा


  • गोकर्णेश्वर अनलाइन

–वीरेन्द्र कर्ण वीरगञ्ज, २८ वैशाख (रासस) : सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पु-याउन नसक्दा समस्यामा परेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ । सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा तरकारी तथा तरबुजाखेती गर्दै आएकामा थिए । लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा करिब रु दुई करोडभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ , “ऋण काढेर कमलानदीको बगरमा हरियो तरकारी तथा तरबुजाको खेती गरेका थियौँ । बजारसम्म लैजान नसक्दा ऋण पनि थपियो । परिश्रम पनि खेर गयो ।” बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मेहनत खेर गएको छ । प्रदेश नं २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

महोत्तरी जिल्लाको उत्तरी भेग भङ्गहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत गाउँका किसानले सयौँ बिघामा व्यावसायिकरुपमा लगाएका तरबुजा समेत बजारसम्म पु-याउन नसक्दा समस्यामा परेका बताइएको छ । पाकेको तरबुजा बजारसम्मपु-याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहको गुनासो गर्नुभयो । उहाँले लकडाउन अझै थपिए किसानले उत्पादन गरेको तरबुजा खेतमा सड्ने र परिश्रम र लगानी खेरजाने बताउनुभयो । तरबुजा स्वास्थ्यको दृष्टिकोणले ज्यादै फाइदाजनक मानिन्छ । उत्पादित तरबुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ । यहाँ उत्पादित तरबुजा स्थानीय बजार, काठमाडौँ, हेटौँडा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म जाने गर्दथ्यो । रौतहट जिल्लामा उत्पादित तरबुजा बजारसम्म पु-याउन नसक्दा क्षति बेहोर्नुपरेको किसानले गुनासो गरेका छन् ।

यसवर्ष डेढ बिघामा तरबुजाखेती गर्नुभएका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भन्नुभयो, “अघिल्लो साल तरबुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पु-याउन नसकेका कारण घाटा व्यहोर्नु पर्यो । ” बैंकबाट रु चार लाख ५० हजार ऋण लिएर सो खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पुयाउन नसकेका कारण गोदाम तथा खेतबारीमै कुहिन थालेको उहाँले चिन्ता व्यक्ति गर्नुभयो । यसपटक उत्पादन भएको १० क्विन्टलभन्दा बढी तरबुजा गोदाममै रहेको उहाँको भनाइ छ । प्रतिकट्ठा १५ क्विन्टलसम्म तरबुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार व्यहोर्नु परेको उहाँले दुखेसो पोख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology