• Saturday 25th of July 2026

कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने


  • गोकर्णेश्वर अनलाइन

विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनको योजनाअनुसार धेरै जनसङ्ख्यालाई कृषिमा आबद्ध हुने वातावरण बनाउन जिल्लाको मादी गाउँपालिकाले किसानलाई कृषि सामग्री, मल र बीउबिजन खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ । कोभिड–१९ का कारणले रोजगारी गुमाएर स्वदेश फर्किने युवा–युवतीलाई कृषि कर्ममा लाग्न उत्प्रेरित गर्ने तथा गाउँपालिकालाई उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको तल्लो कृषियोग्य जमिनमा किसानलाई उत्पादनमा लगाइने र माथिल्लो क्षेत्रमा पशुपालनमा जोड दिने नीतिअनुसार हालै सम्पन्न कार्यपालिका बैठकले कृषि कर्म गर्न चाहना भएकाले अनुदानको दुरुपयोग नहुने स्पष्टताका साथ आवश्यक प्रक्रिया पूरा गरेपछि सो अनुदान उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषिमा यसअघि निश्चित कोटाअनुसार अनुदान दिने गरेका थियौँ, अहिले त्यसलाई खारेज गरेर कृषिमा काम गर्न चाहने सबैलाई मागअनुसार दिन थालेका छौँ । आगामी वर्षको नीति कार्यक्रममा यसलाई अझ व्यवस्थित गर्छौं ।” बीउबिजन, फलफूल बेर्ना, प्लास्टिक टनेल, असिना नेट, प्लास्टिक पोखरी, खेत जोत्ने ट्र्याक्टर, मौरी घारलगायत उत्पादन सामग्रीमा मागअनुसार सो अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पर्यटन र कृषिलाई समृद्धिको प्रमुख आधारका रुपमा तय गरेको थियो । हालको विषम् अवस्थाले पर्यटन क्षेत्र प्रभावित बनेको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गर्ने तयारी गरेको पर्यटन महोत्सवसमेत कोभिड–१९ का कारणले स्थगन गरेको थियो । पर्यटन क्षेत्रका लागि चालू आवमा विनियोजित सबै बजेटसमेत कृषि र विपद् व्यवस्थापनमा रकमान्तरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । “कृषिबाट नै समृद्धि गर्ने लक्ष्यअनुसार कृषिलाई अब प्रमुख प्राथमिकतामा राखेका छौँ ।

यो वर्ष पर्यटन र अन्य खर्च हुन नसकेका योजनाको बजेटसमेत रकमान्तरण गरेर कृषिमा खर्च गरिने छ”, उहाँले भन्नुभयो । त्यसैगरी गाउँपालिकाले चालू वर्षको पशु विकास कार्यक्रमअन्तर्गत पाँचजना तथा कृषि विकास कार्यक्रमअन्तर्गत नौजना पशुपालक र तरकारीखेतीमा आबद्ध किसानलाई जनही रु दुई लाखका दरले अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गत वर्षबाट शुरु गरेको अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ८७ जना कृषक तथा कृषि उद्यमीलाई यस वर्ष रु ५० हजारका दरले अनुदान उपलब्ध गराउने गरी छनोट गरेको छ । गाउँपालिकाको १२ वटै वडाबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त आवेदनबाट किसानलाई छनोट गरिएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिनुभयो । छनोट भएकासँग कार्यक्रम कार्यविधिअनुसार केहीदिनभित्रमा नै सम्झौता गरिने र शुरुमा ५० प्रतिशत र बाँकी रकम कार्यक्रम सम्पन्न गरेपछि गाउँपालिकाबाट गरिने अनुगमन निरीक्षणको प्रतिवेदनको आधारमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology