• Saturday 25th of July 2026

फौजी कीराको प्रकोपले मकै बालीमा क्षति


  • गोकर्णेश्वर अनलाइन

गुल्मीका किसानले रोपेको मकैमा फौजी र गंँवारो कीराको प्रकोपले क्षति पुु¥याएको छ । खन्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै बोटका फेदमा गबारो कीराको प्रकोप देखिएको छ । मकैको गुबोमा फौजी कीराले आक्रमण गरेर नोक्सान पुु¥याएको किसानले बताएका छन । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु गान्टारीका ७० वर्षीय डिलाराम भण्डारी १० रोपनी खेतमा लगाउनुभएको मकै विभिन्न कीरा र रोगले क्षति पु¥याएपछि चिन्तित देखिनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्नपूर्ण बीउ उत्पादन समूहमार्फत ५० प्रतिशत अनुुदानमा ‘देउती सेतो’ जातको मकै लगाउनुभएका उहाँ अहिले मकैबालीमा कीराको प्रकोपले नष्ट बनाएपछि निराश हुनुभएको छ । धुर्कोटका अर्का किसान ५८ वर्षीय मणिराम भण्डारीले पाँच रोपनी खेतमा मकै छर्नुभएको छ । कुनै रोगकीरा नलागेको भए यस वर्ष १५ मुरी अर्थात् १२ क्विन्टलभन्दा बढी मकै उत्पादन हुन्थ्यो । अहिलेको अवस्था कायम रहे त्यसको २५ प्रतिशत अर्थात् झण्डै चार मुरी मात्र उत्पादन हुनेछ ।

“कुनै विषादी नपाए ७५ प्रतिशत नोक्सानी बेहोर्ने अवस्था आइपरेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले वडावडामा प्राविधिक खटाएर समस्या समाधान गरिदिए राम्रो हुने थियो ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धुर्कोट ५ वस्तुस्थित अन्नपूर्ण बीउ उत्पादन सहकारीमार्फत गान्टारीमा सात क्विन्टल मकैको बीउ लगाइएको छ । कुल एक हजार रोपनीभन्दा बढी जग्गामा फरकफरक जातको बीउ लगाइएको छ । मकैको बोटमा शुरुमै उपचार गर्ने व्यवस्था भएको भए यस वर्ष दुई हजार चार सय क्विन्टल मकै उत्पादन हुने अनुमान गरिएको सहकारीका अध्यक्ष लालमणि शर्माले बताउनुभयो । अहिले त्यो उत्पादन धेरै घट्ने अनुमान गरिएको छ । जिल्लाका धुर्कोट, अर्खले, सिमीचौर, इस्मा, मालिकालगायत क्षेत्रमा सो रोगले बढी सताएको छ । बन्दाबन्दी भएकाले किसानलाई झन् समस्या परेको छ । “लकडाउनले बिषादी लिन जान पाइएको छैन”, कृषक कृष्णप्रसाद भण्डारीले भन्नुभयो, “न हिँड्न दिन्छन्, न प्राविधिक आउँछन् ।”

प्राविधिकलाई सम्पर्क गरे पनि लकडाउनको बहाना बनाएर आउन नमानेको उहाँले बताउनुभयो । “मकैका साथसाथै काँक्रालगायत फलफूलमा पनि डढेलाको समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “लकडाउनमा हिँड्न पनि पाइएन, विषादी पनि पाइएन ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत समिर मगरले गंँबारो र अमेरिकी फौजी कीराले अधिकांश ठाउँमा असर गरेको बताउनुभयो । सोमध्ये कुनै ठाउँमा एक मात्र र कुनै ठाउँमा दुवै रोग देखिएको उहाँको भनाइ छ । अनुगमन गरी योजना बनाइने प्युठान– स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङ अमिलधाराकी गीता अधिकारी चार रोपनी बारीमा छरेको मकैको बोट नष्ट भएपछि चिन्तित देखिनुभएको छ । अमिलधारामा रहेको चार रोपनी बारीको मकैले खान पुग्ने गरी उत्पादन हुने गरेकामा यस वर्ष फौजी कीराको प्रकोपले बारीको मकैका बोट सखाप भएका छन् ।

बाहिरबाट हेर्दा हरियाली देखिए पनि नजिकको वोटमा हेर्दा गुभोमा फौजी कीरा पसेर नष्ट गरिदिएको अधिकारीले बताउनुभयो । बन्दाबन्दीले आयविहीन बनेका बेला मकैले केही छाक टार्ने आशामा रहेका अवस्थामा मकै पनि बाँकी नहुने देखेपछि चिन्ता थपिएको अधिकारीको गुनासो छ । ऐरावती गाउँपालिका–२ ठूलीलेकका रिखबहादुर गुरुङको पाँच रोपनी बारीमा छरिएको मकै पनि नष्ट भएको छ । मकै छरेको एक महिनामै अमेरिकी फौजी कीराले नष्ट गरेपछि सरकारी र सहयोगी निकायको गुहार्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । जिल्लाका अन्य ठाउँका किसान पनि फौजी कीराले मकै बालीमा क्षति पु-याउन थालेपछि चिन्तित बनेका छन् । कीराले घाम लागेका बेला मकैको गुभोभित्र पसेर खाने र रातमा कलिला पात खाएर मकैको बोट नष्ट पार्छ । फौजी कीराले गुभो खाएपछि मकैको पात नलाग्ने, घोगा नलाग्नेलगायत समस्या हुने नौबहिनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष विकले जानकारी दिनुभयो । गाउँपालिकाका लिघा, डामृ र खवाङका करीब २०० हेक्टरमा फौजी कीराको प्रकोप छ ।

गाउँपालिकाले अनुगमन गरी योजना बनाउने कृषि शाखा प्रमुख विकले आश्वासन दिनुभयो । उहाँका अनुसार स्थानीय र कमसल बीउमा बढी प्रकोप पाइएको छ । फौजी कीराको प्रकोपले कृषकले हैरानी व्यहोर्नु परेपछि स्वर्गद्वारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा विषादी उपलब्ध गराउने भएको नगर प्रमुख नेत्रबहादुर रोकायले बताउनुभयो । स्वर्गद्वारी नगरपालिकाका अधिकांश स्थानमा फौजी कीराको प्रकोप देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology