• Saturday 25th of July 2026

पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै


  • गोकर्णेश्वर अनलाइन

अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश नम्बर ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ सरकारको रु १४ लाख ५० हजार, निस्दीको रु पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको रु दुई लाख १५ हजारको लागतमा प्रशोधन केन्द्रको ६ कोठाको पक्की भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म भवन निर्माणको काम ९० प्रतिशत भएको छ । यही जेठ १ गतेदेखि निर्माण थालिएको भवनको अनुगमन निरीक्षण गर्दै पाल्पा क्षेत्र नं १ का प्रदेशसभा सदस्य युवराज खनालले अदुवाको मुख्य क्षेत्रका रुपमा विकास हुँदै गएको निस्दीका किसानको अदुवा बिक्रीका लागि बजारको सहज प्रबन्ध मिलाइने बताउनुभयो । उहाँले प्रशोधन केन्द्र निर्माणसँगै संकलन केन्द्रमा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर स्थानीयस्तरमा उत्पादन हुने अदुवाको बिक्रीबाट कृषको आर्थिक स्तर उकास्ने स्पष्ट पार्नुभयो ।

निस्दीमा उत्पादित अदुवा स्थानीय बजारमा रु एक सयदेखि ११० प्रतिकेजीको दरले बिक्री हुने गरेको कृषि शाखा निस्दीका प्राविधिक खेमराज कोइराला बताउनुहुन्छ । निस्दीमा उत्पादित अदुवा स्थानीय व्यापारीले खरीद गरी यसअघि बुटवल, भैरहवा, काठमाडाँैदेखि छिमेकी देश भारतसम्म पु¥याउने गरे पनि यस पालि बन्दाबन्दीले समस्या परेको प्राविधिक कोइरालाको भनाइ छ । निस्दीका कृषक सन्तवीर सुनारीले बन्दाबन्दीको समय अदुवाको व्यापार ठप्प भएको बताउनुभयो । उहाँले कुनै वर्ष धेरै बीउ रोप्दा मूल्य नपाइने र कुनै वर्ष थोरै खेती गर्दा राम्रो मूल्य हुने स्थिति पाइएकाले समस्या भएको उहाँको गुनासो गर्नुभयो । सुनारीले करीब पाँच रोपनी जग्गामा अदुवा खेती गर्नुभएको छ । उहाँले गत वर्ष रु एक लाखभन्दा बढीको अदुवा बिक्री गर्नुभयो । जिल्लामा अदुवाको बजार राम्रो नभए पनि वार्षिक करीब १२ हजारदेखि १३ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

सोमध्ये करीब छ हजार मेट्रिक टन भारतीय बजारमा बिक्री हुँदै आएको छ । बजार अभावकै कारण कृषकमा निराशा बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । गत वर्ष अदुवाको राम्रो उत्पादन गर्न नपाए पनि यस वर्ष कृषकले अदुवा खेतीमा चासो देखाएको ज्ञानकेन्द्र पाल्पाका प्रमुख अर्याल बताउनुहुन्छ । जिल्लाको सबैजसो क्षेत्रमा अदुवा खेती हुँदै आए पनि विशेषगरी निस्दी, बगनासकाली तथा पूर्वखोला गाउँपालिकालाई अदुवाको पकेट क्षेत्रका रुपमा मानिन्छ । वाकामलाङ, गल्धा र सहलकोट, पूर्वखोलाको सिलुवा, बगनासकालीको भैरवस्थान, पालुङ्मैनादी, बराङ्दी, फेक, ठिमुरे, खानीगाउँलगायत क्षेत्र अदुवा खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास हुँदै गएको छ । जिल्लाको करीब २६० हेक्टर क्षेत्रफलमा कृषकले व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएका छन् । अदुवा उत्पादक सहकारी संघले अदुवा बिक्री तथा बीउविजन र औषधिको व्यवस्थापन मिलाउने काम गर्दै आएको व्यवस्थापक भेषराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

विगतमा २३ संकलन केन्द्र निर्माण गरी र १० सहकारी मिलेर बिक्रीको प्रबन्ध मिलाए पनि अहिले भने बजार अभाव रहेको उहाँको भनाइ छ । तानसेन नगरपालिका –८ मदनपोखरा चुच्चेबारीमा प्रशोधनका लागि भौतिक संरचना निर्माण भए पनि मेशिनरी सामान, प्रशोधन गर्ने औजार अभावमा अदुवाको प्रवद्र्धन गर्न नसकिएको व्यवस्थापक तिमिल्सिना बताउनुहुन्छ । दुईवर्ष अगाडि नै प्रदेश सरकारको समन्वयमा राष्ट्रिय मसला बालीमार्फत रु ३२ लाख र स्थानीय बासिन्दाको जनश्रमदानबाट करीब रु ४० लाखमा तीन कोठाको भवन निर्माण भएपनि सामग्री अभावले प्रशोधन उद्योगका रुपमा बढाउन नसकेको व्यवस्थापक तिमिल्सिनाको गुनासो छ । पानी नजम्ने, रातो मलिलो माटो, पारिलो तर ओसिलो जग्गामा बढी उत्पादन लिन सकिने अदुवाको व्यापारका निम्ति बजारको राम्रा प्रबन्ध हुन सके पाल्पामा उत्पादन हुने अदुवाबाट राम्रो आर्थिक जोहो गर्न सकिने कृषक बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology