• Saturday 25th of July 2026

पिँडालुखेतीप्रतिको मोह


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायको पिँडालुखेतीप्रतिको मोह जारी रहेको छ । ती समुदायको खेतबारीमा सहजैरुपमा देखिने तरकारी बालीमा पिँडालु हो । ती समुदायले पुर्खौंदेखि सो खेती लगाउँदै आएका छन् । पौष्टिकताले भरिपूर्ण पिँडालुको तरकारी ती समुदायले अधिक रुचाउने गर्दछन् । घुमन्तेयुगदेखि हालसम्म निरन्तररुपमा ती समुदायले खेती गर्दै आएको तरकारी बालीका रुपमा पिँडालु रहेको छ । पिँडालुको पात, काण्ड र गानो तरकारीका रुपमा प्रयोग हुने गरेको छ । अरु तरकारीको तुलनामा पिँडालु निकै स्वास्थ्यवर्धक हुनुका साथै प्रशस्तमात्रामा प्रोटिन र कार्वोहाइड्रेट पाइने भएकाले ती समुदायले यसलाई रुचाउने गरेको शुक्लाफाँटा नगरपालिका १२ का वडाध्यक्ष बाले रानाले बताउनुभयो । रगत सफा गर्ने र छालासम्बन्धी रोग हटाउने औषधिका रुपमा समेत परम्परागतकालदेखि पिँडालुको प्रयोग हुँदै आएको छ उहाँले भन्नुभयो, “पिँडालुको तरकारीको सेवनले शरीरमा स्फूर्ति आउनुका साथै मानसिक तनाव हटाउन मद्दतपु-याउछ ।”

रगत बगिरहेको भए पिँडालुको डाँठको चोप लगाउँदा रोकिने, पिँडालुको पातको तरकारी खानाले स्तनपाई आमाको स्तनमा दूधको मात्रा बढ्ने,अनुहारमा चमक आउने र पिसाब पोल्ने रोगबाट छुटकारा पाउन सकिने उहाँको भनाइ छ । उहाँले दुई कट्ठा जग्गामा पिँडालु रोप्नुभएको छ । प्रतिवर्ष उहाँले पिँडालु खेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । पिँडालुखेती पुर्खाकै पालादेखि गरिँदै आएको हो उहाँले भन्नुभयो, “सहनसहन चालचलनसँगै पिँडालुखेती पनि राना थारु समुदायको अभिन्न अङ्गका रुपमा रहेकाले छाड्न सकिएको छैन ।” पिँडालुखेती नगरेको रानालाई के राना भन्ने मोती रानाले भन्नुभयो, “अनिवार्यरुपमा सबैको घरआँगन छेउकै बारीमा सहजै पिँडालुखेती देख्न सकिने गरी लगाएको घर छ भने पक्कै पनि राना समुदायको घर भनेर चिन्ने गरिन्छ ।” जेठको दोस्रो हप्तादेखि रोप्न शुरु गरिने पिँडालु कात्तिक महिनामा खन्ने गरिन्छ ।

परम्परागतरुपमा गरिने आलुखेती जस्तै पिँडालुखेतीसमेत गरिँदै आएको छ । बीउका लागि आवश्यक पिँडालु परालको पोकामा भण्डार गरेपछि बाँकी रहेको पिँडालुलाई वर्षभरि खानका लागि घरभित्र फिँजाएर राख्ने गरिन्छ । घरपरिवारका लागि आवश्यकताभन्दा बढी पिँडालु उत्पादन भएमा बजारमा लगेर बेच्नेसमेत गरिन्छ । पिँडालुको तरकारी बनाएर, दालमा राखेर र पोलेरसमेत खाने गरिन्छ । धानको भुसमा पोलेर र उसिनेर पिँडालुको स्वाद एकपटक चाख्नेले विर्षन सक्दैन इतवरीया रानाले भन्नुभयो, “पिँडालुको स्वाद नै बेग्लै किसिमको हुने भएकाले यसको बजारमा समेत बढ्दो माग छ ।” पहिला परिवारका लागि तरकारी बनाउनका लागि मात्रै पिँडालुको खेती हुने गरेकामा हाल पिँडालुको बजारमा बढ्दो मागका कारण दामसमेत राम्रै पाइन थालेपछि धेरै परिवारले पिँडालु खेतीका लागि जग्गाको क्षेत्रफलसमेत विस्तार गर्दै आएका छन् ।

बजारमा हाल पिँडालु रु ५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । राना थारु समुदायले खेती गर्ने पिँडालु बेग्लै जातको अरु पिँडालुको तुलनामा स्वादिलो हुने भएकाले बजारमा हातोहात बिक्री हुने गरेको छ । राना थारु समुदायका प्रतिपरिवारले हाल रु १० हजारदेखि रु २० हजारसम्मको पिँडालु बजारमा लगेर बिक्रीसमेत गर्दै आएको फागु रानाले बताउनुभयो । बलौटे, दोमट र चिम्ट्याइलो जुनसुकै माटोमा समेत फस्टाउने पिँडालुबाट राम्रो आम्दानी हुन थालेपछि यसको खेती विस्तार हुँदै जान थालेको उहाँले बताउनुभयो । जनावर र रोग किराबाट समेत अन्य बालीको तुलनामा पिँडालुखेती गर्ने किसानले नोक्सानीसमेत व्यहोर्नु पर्दैन । कञ्चनपुरका राना थारु बसोबास गर्ने ११० गाउँमा पिँडालुखेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले पिँडालुखेती ती समुदायले अनिवार्यरुपमा लगाउँदै आए पनि अन्य समुदायले पनि खेती गर्दै आएको बताउनुभयो । उहाँका अनुसार कैलाली र कञ्चनपुरमा झण्डै बीस हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा लगाइने पिँडालुखेती गर्ने अधिकांशमा राना थारु समुदाय नै रहेका छन् । पिँडालुको गानोमा प्रशस्तमात्रामा स्टार्चसँगै विभिन्न किसिमका पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि निकै लाभदायक रहेको उहाँले बताउनुभयो । पिँडालुखेती विस्तारका लागि किसानबाट अनुदानलगायतका अन्य कार्यक्रमको भने हालसम्म माग भई आएको छैन उहाँले भन्नुभयो, “परम्परागतकालदेखि लगाइँदै आएको पिँडालुखेतीलाई व्यावसायिक बनाउनका लागि कार्य अगाडि बढाउनका लागि तत्पर छौँ ।” पिँडालुखेतीका लागि विशेष गरी २१ देखि २७ डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ । एक हेक्टर क्षेत्रफलमा पिँडालुको उत्पादन १० देखि १२ टनसम्म हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology