• Saturday 25th of July 2026

पाल्पामा मौरीपालन प्रवद्र्धन कार्यक्रम


  • गोकर्णेश्वर अनलाइन

रामपुर, ९ असार (रासस) : पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ । केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको हो । मणि मौरीपालन पकेट समितिले गत वर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार २०० मौरी घारमा मौरी पकेट कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा यहाँका २३ घरका कृषक आबद्ध छन् जसमध्ये कम्तिमा एक घरले ५० देखि बढीमा १५० सम्म घारमा मौरीपालन गरेका छन् । चालू आवमा केन्द्र र पकेट समितिको समन्वयमा रु २१ लाख ५०० को लागतमा ३३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधि कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारी बताउनुहुन्छ ।

पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत गत वर्ष १०० मौरीघार ज्ञान केन्द्रले उपलब्ध गराएको थियो । “मौरीपालनबाट कृषकको आयस्रोत बढ्दै गएको छ, मौरीघार र महको माग धेरै आएपनि अहिले परिस्थिति सहज नभएकाले बिक्री गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । केन्द्रले मौरीपालनमा लगानी गरिदिएपछि यहाँका कृषक आफैले घार थपेर व्यावसायीकतामा जोड दिएका छन् । चालू आवदेखि नै शुरु भएको हिमाली मौरी पकेट समितिले ज्ञान केन्द्रको रु १४ लाख ८० हजार र समितिको रु १४ लाख ८० हजार लगानीमा समन्वय गरी कार्यक्रम चलाएको छ । सो रकमबाट ३२ कृषकलाई हालै २०० वटा गोलासहितको मौरीघार दिइएको छ । साथमा मौरी स्ट्याण्ड ३००, आधार चाका २०० किलो, चिनी ६ हजार किलो (पाँच सय घारलाई प्रतिघार १२ किलोको दरले), टोपी ६० वटा, पञ्जा १००, मौरी उठाउने झोला १२, मौरी रानी राख्ने भाँडो (क्वीन क्याच) १००, क्वीन गेट ३०० र मौरीमा लाग्ने रोग निराकरणका लागि औषधि वितरण गरिएको समितिका अध्यक्ष पशुपति बस्याल बताउनुहुन्छ ।

पकेट समितिमा ५५ कृषक छन् भने ५५० घारमा मौरीपालन गरिएको छ । घार बढाउने र यसैबाट कृषकलाई आर्थिकरुपमा अब्बल बनाइने बताइएको छ । “मौरीपालन व्यवसायमा कृषक आफैँले गोला तथा घार थप्दै गएका छन्, ज्ञान केन्द्रको मात्र भर नपरी आफैंले लगानी बढाउँदै गएपछि अहिले आम्दानी लिन शुरु गरेका छन्”, ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठक बताउनुहुन्छ । कार्यक्रम सञ्चालनका लागि एक पकेट क्षेत्रमा कम्तीमा ५०० गोलासहित मौरीघार हुनुपर्नेछ । महको उत्पादन वृद्धि हुन थालेपछि कृषकले बाहिरी बजारमा पु-याउन प्याकिङ्ग गरेर पठाउने तयारीमा छन् । मौरीपालनका लागि प्रशस्त जग्गा चाहिँदैन । करेसाबारी, घरका आँगन तथा बारीका कान्ला, बगैँचामा मौरीघार राखेर कमाइ गर्न सकिन्छ ।

कृषकको आयस्रोत वृद्धि गर्न पकेट क्षेत्र विस्तारमा जोड दिइएको ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । जिल्लाका तानसेन र रामपुर नगरपालिका, बगनासकाली, निस्दी, तिनाउँ, पूर्वखोलालगायतका गाउँपालिकामा मौरीपालनमा कृषकको आकर्षण बढ्दो छ । स्थानीय तहले मौरीपालनमा प्रोत्साहन गर्दै बजेट उपलब्ध गराउन थालेपछि प्रत्येक घरमा मौरी पाल्न थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology