• Saturday 25th of July 2026

चापागाउँदेखि टीकाभैरव राजकुलो सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनमा आएको छ । वाग्मती प्रदेश सरकारले चालु वर्षमा रु ४९ लाख बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको हो । विसं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै चापागाउँ फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । सो फाँटमा दुईतीन दिनभित्र धान रोप्ने काम सम्पन्न हुने नं १ टीकाभैरव राजकुलो सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यही असार २० गतेसम्ममा गोदावरीका १०, ११, १२ र १३ वडाका सम्पूर्ण खेतको रोपाइँ सकिन्छ ।” प्रदेश सरकारले दिएको बजेटअन्तर्गत ९९ प्रतिशत रकमले काम सम्पन्न गरिएको महर्जनले जानकारी दिनुभयो ।

आउँदो आर्थिक वर्षमा सो कुलो लगनखेल पु-याउन विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सरकारले कुलो पुनःनिर्माणका लागि अर्काे बजेट पनि थप गर्ने भएको ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यस कुलोलाई हामी व्यवस्थित बनाउनाका साथै एक सय वर्षसम्म सञ्चालन हुने खालको गराउने छौं ।” तीस वर्षपछि सञ्चालनमा आएको राजकुलोको पानीले यस वर्ष धान रोपाइँको काम धमाधम अघि बढिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । पहिलो चरणमा गत वैशाख १२ गते सो कुलोबाट पानी ल्याउन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रतिनिधिसभाका सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य सञ्जेल र राजकाजी महर्जन, गोदावरी नगरपालिकाका प्रमुख महर्जन, केही वडाध्यक्षलगायत स्थानीय जनताले अनुगमन गरेका थिए ।

यसैगरी गत वैशाख २० गते महर्जनका अध्यक्षतामा १३ जनाको उपभोक्ता समिति गठन भएको थियो । दोस्रो पटक वैशाख २६ गते मन्त्री फुयाँलसहित प्रदेश तथा प्रतिनिधिसभाका सदस्य र नगरपालिका प्रमुखले अनुगमन गर्नुभएको थियो । सो कुलोको पानी धेरै वर्षअघिदेखि नै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारसम्म दैनिक पुग्ने गरेको बताइएको छ । प्रदेश सरकारले सार्वजनिक ऐन बनाउँदा शहरको सौन्दर्य देखिने गरी कुलोलाई अघि बढाउने मन्त्री फुयाँलले बताउनुभयो । राजकुलोको पानीले गोदावरी र पाटनका ६४ ढुङ्गेधारा पुनःजीवित हुनाका साथै गोदावरीको करीब ६० हजार रोपनी जमीन सिँचाइ हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology