• Saturday 25th of July 2026

सामूहिक तरकारी खेतीमा रमाउँदै महिला


  • गोकर्णेश्वर अनलाइन

मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिलाहरु आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाहरुको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दा जस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका ती महिलाहरुले उत्पादन गरेका तरकारी आफ्नै गाउँमा खपत हुँदै अएको छ । तरकारीको राजा भनिने आलु यस जिल्लाकै प्रमुख बालीका रुपमा लिइन्छ । सोही खेतीले उनीहरुलाई आयआर्जनमा निर्भर बनाउने गरेको छ । उनीहरुले यहाँ आउने पाहुनाको मुख्य रोजाइमा पर्ने हुँदा गाउँको झण्डै १० रोपनी खाली जग्गामा सामूहिक खेती गरेका हुन् । सामूहिक तरकारी खेतीबाट आत्मनिर्भर मात्र नभई आयआर्जनसमेत गरेका समूहकी सदस्य बेलकासी गुरुङले बताउनुभयो ।

शुरुमा जिल्ला कृषि कार्यालय चामेबाट रु १० हजार अनुदानबाट शुरु भएको यस समूहको सामूहिक तरकारी खेती हाल लाखौँ आम्दानी गर्न सफल उनीहरु खुशी हुँदै उत्पादनमा अझ बढी मिहिनेत गर्ने भएका छन् । यहाँ उत्पादन भएका आलु, काउली जिल्लाका ठूल–ठूला होटलदेखि बाहिरी जिल्लाका फाइभ स्टार होटलहरुबाट माग आउने गरेको उनीहरु बताउँछन् । यहाँ उत्पादित आलु काठमाडौँ, पोखरालगायत स्टार होटलहरुमा समेत निर्यात हुन थालेका छन् । यसरी आएको रकम समूहमा जम्मा गरी गाउँको सरसफाइदेखि बाटाघाटा मर्मत गर्ने गरेको समूहकी अर्की सदस्य सूर्यकासी गुरुङले बताउनुहुन्छ ।

उनीहरुले आम्दानी भएको रकम समूहमा बचत गरी शुरुआत गरेका गाउँमा नै उदाहरणीय काम गरेका छन् । एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिएको उनीहरुसँग अनुभव रहेको छ । कोरोना भाइरसको सङ्क्रमण नभएको भए पर्यटकले भरिने र आलुको विभिन्न परिकारले लोभिने गरेको उनीहरुको भनाइ छ । दश हजार लगानीबाट शुरु गरेका महिला समूहले गाउँको विकासमा समेत टेवा पु¥याउँदै आएका समूहकी अध्यक्ष उर्मिला गुरुङले बताउनुभयो । महिला सक्रिय भए घरमात्र नभई गाउँको विकासमा समेत टेवा पुग्न सक्ने ओडार गाउँका महिला उदाहरण बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology