• Saturday 25th of July 2026

रोपाइँ गर्न नपाएपछि महोत्तरीका किसान निराश


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, १३ असार (रासस) : असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महिना महोत्तरीका किसानका लागि यसपाली उत्साहपूर्ण देखिँदैन । असार दोस्रो साता बित्नै लाग्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसानलाई असार नीरस बनेको हो । खेतमा पानी नभएपछि जिल्लामा मध्यअसार हुनै लाग्दासम्म रोपाइँको सुरसार नभएको किसान बताउँछन् । “यसपाली छिटफुट पानी त पर्दै आएको हो, बिउ त कसैगरि हुर्काइयो, तर के गरौँ खेत हिलाम्य हुने गरी पानी नपरेपछि रोपाइँ गर्न पाइएको छैन”, भङ्गहा नगरपालिका–४ रामनगरका ३५ वर्षीय किसान चन्देश्वर राय दनुवारले बिरक्तिदै भन्नुभयो । जिल्लामा यसपाली जेठभरिनै जसो पानी परी रहेपनि बीउ हुर्केयता खेत हिल्याउने गरी पानी नपरेपछि यहाँ मध्यअसार हुनैलाग्दा पनि सघन रोपाइँ शुरु हुन नसकेको दनुवारको भनाइ छ ।

समयमा धानको बिउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले पर्याप्त पानी नहुँदा यहाँका किसान आकासतर्फ हेर्दै दिन बिताउँदैछन् । “खेतीका लागि पहिलो कुरा सिँचाइको प्रवन्ध हुनपर्ने हो”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भन्नुभयो, “हाम्रो त वस्ती नजिकका नदी खोल्सीका घरखेत बगाउने र बर्खेभेलले बिजोग बढाउने मात्र छन्, बाँधपैनी (कुलो नहर)को प्रबन्ध नहुनु, बीउमल कहिल्यै ढुक्कसँग पाउन नसक्नु र आम किसानसम्म सुविधा नपुग्नु राम्रो खेती हुन नसक्नुका मुख्य समस्या हुन् ।” सरकारले किसानलाई दिने भनिएका कृषिऋण, अनुदान र अन्य सुविधा टाठाबाठाले नै हड्पिदा सर्वसाधारण किसानसम्म सरकारी सुविधा नपुगेको महतोको थप गुनासो छ ।

यतिखेर घरगुजाराको मुख्यबाली धान रोप्न नपाएपछि यहाँका किसान परिवारको पालनपोषण यसपाली कसरी गर्ने भन्ने चिन्तामा छन् । मुख्यबाली मानिएको धान नै समयमा लगाउन नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोल्ने गरेको भङ्गाहा–४ कै किसान दिपमायाँ श्रेष्ठ बताउनुहुन्छ । जेठको तेस्रो साताभित्र बीउ राखीसक्ने र असार तेस्रो साताभित्र धान रोप्ने काम सक्ने किसानको तालिका यसपाली पानीको अभावले खज्मजिएपछि आम किसानमा अन्नको सङ्कट हुने डर बढेको हो । असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका हुने गरेको यहाँका किसान बताउँछन् । तर, धेरैजसो आकासे पानीको भरमा गरिने यहाँको धान खेती समयमा पानी नपरेपछि रनभुल्लमा परेको औरही नगरपालिका भोइल बस्तीका किसान मोहन महतो बताउनुहुन्छ ।

महोत्तरीमा कूल खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये करिब ५२ हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिन्छ । तर, कहिले पानी, बिउ, कृषि जनशक्ति र कहिले मलको अभाव हुनेहुँदा कहिल्यै पुरापुरी रोपाइँ हुन नसकेको कृषि सेवा प्रदायक सरकारी कार्यालयकै कृषि विज्ञ बताउँछन् । पानीको अनुकूलता÷प्रतिकूलतामा धान खेतीको क्षेत्रफल बर्सेनी घटबढ हुने गरेको छ । जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र सिञ्चित रहेकाले यहाँको धेरैजसो खेती आकाशे पानीमै भर पर्नु पर्ने स्थिति रहेको कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय मलङ्गवा (महोत्तरी र सर्लाही कार्यक्षेत्र) सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादब बताउनुनुहुन्छ । महोत्तरीमा असारमध्ये हुँनै लाग्दासम्म १०÷१२ प्रतिशतमात्र रोपाइँ हुन सकेको छ । जिल्लामा रातु, बडहरी, ओक्सी, जङ्घा, मरहा, भब्सी, कुटमेश्वरी र बाँकेलगायतका नदी बगेपनि यी यसको पानी खेतबारीमा सिँचाइ गर्न नभएर बर्खेभेलमा घरखेत बगाउने, कटान गर्ने पीडादायीमात्र रहँदै आएका आम किसानको दुखेसो छ ।

“जिल्लामा प्रत्येकजसो बस्ती छेउमै नदी बग्छन्”, जिल्लाकै एकडारा गाउँपालिकाको बेला बस्तीका अगुवा किसान इलियास अन्सारीले भन्नुभयो, “तर, नदीको पानी खेतमा सिँचाइका लागि व्यवस्थित गर्न नसकिदा बर्खेभेलले घरखेत बगाउने त्रासमा पो बस्नु परेको छ ।” जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहले कृषि पहिलो प्राथमिकता रहेको बताउँदै आएपनि मुख्य कुरा सिँचाइ प्रबन्ध गर्न रुची नदेखाएका किसान बताउँछन् । यसैबीच सुख्खाखडेरी, अल्पवृष्टि, अनावृष्टि र बाढीपहिरोको मुख्य कारण चुरेक्षेत्र र नदीमा हुने अनियन्त्रित उत्खनन् भएको डा बिजयकुमार सिंह बताउनुहुन्छ । “चुरेक्षेत्रका पर्वत श्रेणी ठूलठूला मेसिन लगाएर ढालिदै छन्, नदीमा अनियन्त्रित दोहन रोकिने कुनै छाँट देखिँदैन, वनक्षेत्र मासिदा छन्”, विगतमा राष्ट्रपति तराइ मधेश चुरे संरक्षण समितिमा विज्ञका रुपमा सेवा गर्नुभएका डा सिंह भन्नुहुन्छ–, “हामीले भोगी रहेका कृषिक्षेत्रका समस्या धेरैजसो मानव सिर्जित छन्, यिनको व्यवस्थापन र संरक्षणमा आमचासो आवश्यक छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology